arrow

सय पर्यटकीय गन्तव्य मध्यको तालपोखरामा ५ दिने बिशेष शिबरात्री मेला शुरु

logo
सीता डोटेल,
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
talbarahi.jpg

रामपुर । रामपुरको तालपोखरा संरक्षण समितिले आयोजना गरेको विशेष महाशिवरात्री मेलासुरु भएको छ । रामपुरको मुख्य पहिचानको रुपमा विकास भएको तालपोखराम शिवरात्री पर्वको अबसर पारेर मेलाको आयोजना गरेको हो ।

 ‘‘रामपुर विकासको आधार तालपोखरा पर्यटनको पुर्वाधार’’ भन्ने नाराका साथ ५ दिने मेला शुरु भएको हो । मेलाका ५ दिन नै फरक फरक किसिमका कार्यक्रम तालपोखरा संरक्षण समितिले राखेको छ । मेलाको पहिलो दिन विहिबार तालपोखरामा खुल्ला सामुहिक डुङ्गा दौड प्रतियोगिता भएको छ ।

 तालपोखरा संरक्षण समिति रामपुरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तालपोखराले रामपुरलाई चिनाउन सफल भएको बताए । हामीले बढो मेहनतले तालपोखरा शुरु गर्‍यौ थापाले भने– यसको संरक्षण र प्रवद्र्धनका लागि हामी नै मिलेर लाग्नुपर्छ । तालपोखराका विविध संरचनाका लागि नियमित सहयोग जुटेकाले अब यहाँ आएका पर्यटकलाई टिकाई राख्न थप मेहनत स्थानीय गर्नुपर्ने उहाँको भनाई थियो ।

तालमा डुङ्गा प्रवेश द्धारमा रिवन काटेर नेपाल सरकारका पूर्व सचिव शान्त बहादुर श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्दै अब तालपोखराले कालीगण्डकी उपत्यकाको विकासमा फड्को मारेको बताए। उनल नजिकका धार्मिक तथा पर्यटकीय स्थलहरु मिलेर थप रामपुरका अन्य संरचना सुधार र बाह्य पर्यटक आउने वातावरणको विकास गर्नुपर्ने बताए ।

नेपाल सरकारको १०० गन्तव्यमा पर्न सफल तालपोखरामा पहिलो पटक भएको सामुहिक डुङ्गा प्रतियोगितामा ११ समुहले भाग लिएका थिए । प्रतियोगितामा मुल गेट प्रवेश गरेसँगै विचको मन्दिरमा जाने डुङ्गा सञ्चालन गेटबाट शुरु गरेको डुङ्गा तालको विचमा रहेको मन्दिर परिक्रमा गरेर आउनुपर्ने रुट बनाइएको थियो । निर्धारित दुरी दुई मिनेट २३ सेकेण्डमा पार गर्दै किशोर देवकोटा, ठाकुर खनाल, पूर्ण चन्द्र देवकोटा र भगवान देवकोटाको टोली प्रथम हुन सफल भएको छ । प्रथम समुहले नगद १० हजार प्राप्त गरेको छ । त्यस्तै नारायण भण्डारी, रामचन्द्र भण्डारी, हरि भण्डारी, केशव भण्डारी र माधव भण्डारीको समुहले २ मिनेट २३ सेकेण्ड ८१ मिमि सेकेण्डमा पार गर्दै द्धितिय भएको थियो । तृतिय २ मिनेट २८ सेकेण्ड १२ मिमि सेकेण्डमा दुरी पार गर्दै पविन भण्डारी, श्रीकृष्ण भण्डारी, विक्रम घर्ती र अमृत भण्डारीको समुह हुन सफल भएको थियो ।

विजयी समुहले क्रमशः नगद १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् । तालपोखरामा हाल ठूलो वोट २, काठको डुङ्गा २ र आफैले खुट्टाले चलाएर शेयर गर्न मिल्ने गरि ५ डुङ्गा रहेको छ । प्रतियोगीतामा ठूलो प्लास्टिकको एउटा वोट प्रयोग गरिएको समितिका अध्यक्ष भरतराज देवकोटाले बताए। मेला अन्तर्गत शुक्रबार नृत्य सहित साझँ बालन नाच देखाइनेछ । शनिवार राष्ट्रिय कलाकारको प्रस्तुति सँगै एकल नृत्य प्रतियोगिता रहनेछ भने आइतवार भजन गायकहरुद्धारा भजन कृतन सञ्चालन हुनेछ । त्यस्तै मेलाको अन्तिम दिन सोमवार शिवरात्रीका दिन कलश यात्रा, भजन पुजापाठ सहित पुरस्कार वितरण र समापन कार्यक्रम हुने तालपोखरा संरक्षण समितिका सचिव सुनिल प्रसाद देवकोटाले बताए । मेलाको पूर्व सन्ध्यामा विहिबार सुरक्षा बेस क्याम्प रामपुरका नेपाली सेनाको टोलीले तालपोखरा परिसरको सरसफाई गरेका थिए । मेलालाई मध्यनजर गर्दै प्रशासनले शसस्त्र प्रहरीको टोली तालपोखरा क्षेत्रमा खटाएको छ भने नेपाल प्रहरीले पनि सुरक्षा दिनेछ ।

गतबर्ष ५ दिने पुजा पाठ सहित शिवरात्रीका दिन मन्दिरमा मुर्ति भित्राएर तालपोखरामा पुजापाठका लागि मन्दिर खुला तथा तालमा डुङ्गा सञ्चालनमा ल्याइएको थियो । तालपोखरा संरक्षण समितिले बर्षेनि शिवरात्रीमा मेलाको रुपमा बार्षिकउत्सवलाई लिदै कार्यक्रम गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ