arrow

बोले अर्थमन्त्री : वित्तीय क्षेत्रलाई नालातिर जान नदिन राष्ट्र बैंकमाथि हस्तक्षेप

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
yubaraj-minister-finance-1.jpg

काठमाडौं । राष्ट्र बैंकमाथि अर्थमन्त्रालयले हस्तक्षेप गरेको भन्नेबारे अर्थमन्त्री युवराज खतिवडाले स्पष्टीकरण दिएका छन् । व्याजदर तोक्ने विषयदेखि राष्ट्र बैंकका कर्मचारीहरुको सरुवासम्ममा अर्थले हस्तक्षेप गर्न थालेपछि राष्ट्र बैंक अर्थमन्त्रालयबाट चल्छ भन्दै केन्द्रीय बैंकको स्वायत्ततामाथि प्रश्न चिह्न खडा गरेपछि अर्थमन्त्री  खतिवडाले यस्तो स्पष्टीकरण दिएका हुन् । 

मंगलबार अर्थमन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७५ ७६ को वार्षिक बजेटको अर्धवार्षिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले राम्रा र आवश्यक काममा मात्रै राष्ट्र बैंकको क्षेत्रमा आफूले सक्रियता जनाएको स्वीकार गरेका हुन् । उनले ट्रयाक बाहिर जानलागेको वित्तीय क्षेत्रलाई सहि बाटोमा ल्याउनको लागि मात्रै सरकारले राष्ट्र बैंकको अधिकार क्षेत्रमा प्रवेश गरेको बताएका हुन् । 

विशेषगरी व्याजदर तोक्ने र अर्थतन्त्रका सूचकहरुलाई सकेसम्म आफू अनुकूल बनाउन राष्ट्र बैंकमाथि हस्तक्षेप गरेको पछिल्ला केही घटनाक्रमहरुले केन्द्रीय बैंक सरकारको एउटा विभाग जस्तो भएको भन्ने तीब्र गुनासाहरु समेत आउने गरेको छ । उनले व्याजदर तोक्नु बाध्यता भएको भन्दै बाहिर बसेर सोचेजस्तो काम गर्न सजिलो नरहेको बताए । 

केही समय अघि बैंकहरुले ६ प्रतिशतदेखि ७ प्रतिशतमा लगानी गर्दा कुनैपनि सञ्चारमाध्यमले यसमा चासो नदेखाएको भन्दै त्यतिबेला आफू एक्लैले बोल्नु परेको स्मरण समेत मन्त्री खतिवडाले गरे । हामीले पहेँलो लाईन काटेर नालातिर जान लागेको बैंकहरुलाई ट्र्याकमा ल्याउन मात्रै कदम चालेका हौं । राम्रोको लागि पनि हस्तक्षेप गर्नु हुँदैन भने बरु तपाईँ(पत्रकार)हरु नै व्याजदर तोकिदिए हुन्छ । हामीलाई मान्य हुन्छ । उनले भने ।

यदि व्याजदरमा आफूले हस्तक्षेप नगरेको भए आजसम्म निक्षेपको औषत् व्याजदर १२ प्रतिशत भन्दा माथि पुगिसक्ने उनको दाबी थियो । सोही सम्भावित समस्या समाधानको लागि आफूले केही सक्रियता देखाएको उनले स्पष्ट पारे । 

व्याजदर, विनिमय दर र मुद्रास्फीति यी तीन क्षेत्र मध्ये दुई क्षेत्रलाई सरकारले हस्तक्षेप गरेपनि एक क्षेत्र सधैं स्वतन्त्र हुने अर्थशास्त्रीय मान्यतालाई आफूले पनि अनुसरण गरेको दाबी उनको छ । यदि यी सबै क्षेत्रलाई हस्तक्षेप गर्न थाल्यो भने अर्थतन्त्र नै डामाडोल हुने उनको बुझाई छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ