arrow

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

logo
योनहाप,
प्रकाशित २०७५ फागुन २२ बुधबार
lee-myung-bak-southkorea.jpg

सियोल। भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन्।

सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो। उनले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा उजूरी दिएका थिए। सियोल उच्च अदालतले पूर्व राष्ट्रपति ली ले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिनुभएको निवेदनलाई स्वीकृत गरेको थियो।

अदालतको आदेशमा पूर्व राष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ। उनमाथि अदालतले करिब ९ लाख डलर जमानत रकम माग गरेको छ। पूर्व राष्ट्रपति लीले उक्त शर्तहरु स्वीकार्नु भएको छ।

लीले स्वास्थ्य जाँचका लागि अस्पताल जानु परे अदालतको अनुमति लिनुपर्ने तथा निवास फर्किएपछि अदालतलाई त्यसको जानकारी दिनुपर्ने छ। उनले दैनिक कार्यहरुको सूची समेत बनाउनु पर्नेछ।

पूर्व राष्ट्रपति ली माथि आफू राष्ट्रपति हुँदा नातेदारको कम्पनीलाई लाभ पुर्‍याएको तथा सामसुङ कम्पनीबाट करिब ५२ लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ