ग्यालेक्सी फोल्डपछि थप दुईओटा पट्याउन मिल्ने स्मार्टफोन ल्याउँदै सामसुङ
एजेन्सी
प्रकाशित २०७५ फागुन २२ बुधबार
324
Shares
काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन निर्माता सामसुङले ग्यालेक्सी फोल्डपछि दुई नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार कम्पनीले यो समार्टफोनका लागि आफ्नो काम पनि शुरु गरेको छ ।
यसमध्ये एउटा क्लेमसेल मोडल हुनेछ भने अर्को हुवावेई मेट एक्सजस्तो मोडल हुनेछ । क्लेमसेल मोडलमा डिभाइस एउटा नै हुन्छ तर यसमा खप्टिएको भाग निकाली दुई भागमा बाँड्न सकिन्छ । हुवावेई मेट एक्समा भने स्क्रिन नै पट्याउन सकिने किसिमको छ ।
सामसुङले उक्त स्मार्टफोनहरु यसै वर्ष वा अर्को वर्षको शुरुमा सार्वजनिक गर्नसक्ने बताइएको छ । तर, ग्यालेक्सी फोल्ड मानिसहरुले कति रुचाउँछन् भन्ने विषयमा कम्पनीको यी स्मार्टफोन निर्भर रहने बताइएको छ ।
पछिल्लो समय विश्वका प्रमुख स्मार्टफोन निर्माताहरु पट्याउन मिल्ने स्मार्टफोनमा काम गरिरहेका छन् । अहिले शाओमी यो स्मार्टफोनका लागि अघि बढिरहेको देखिएको छ । कम्पनीले यो उत्पादनको टिजर पनि सार्वजनिक गरेको थियो । साथै एप्पलले पनि पट्याउन सकिने किसिमको स्मार्टफोन ल्याउनसक्ने अनुमान छ ।
यसअघि सामसुङले एस१० सँगै पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको थियो । अहिले कम्पनीले यो स्मार्टफोन बजारमा आएपछिको मानिसको प्रतिक्रिया कस्तो आउँछ भन्ने पर्खाइमा छ ।