arrow

ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्ट ४७ महिना जेल सजाय

logo
एएनआई,
प्रकाशित २०७५ फागुन २५ शनिबार
paul-manafort-trump.jpg

वासिङ्टन डिसी, संयुक्त राज्य अमेरिका। संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ। उनी ट्रम्पको सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन अभियान प्रमुख थिए। गत वर्ष अदालतले म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो।

राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उनीविरुद्ध ती अभियोगहरू लगाइएको थियो। म्यानफोर्टले दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ।

बिहीवार साँझ अदालतमा उपस्थित भएका म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताएका थिए। आफू अपमानित र लज्जित भएको भन्दै उनले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गरेका थिए। उनले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकार गरे। तर न्यायाधीश टीएस एलिसले म्यानफोर्टले अनुचित गतिविधिमा संलग्न भएर पनि पश्चात्ताप नगरेकोमा आश्चर्य व्यक्त गरेका सञ्चारमाध्यममा जनाइएको छ।

उनीमाथि लागेका अन्य १० अभियोगलाई भने अदालतले खारेज गरिदिएको छ। अमेरिकाको न्याय मन्त्रालयका विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले २२ महिनाअघि ट्रम्प र रुसको सम्बन्धबारे थालेको अनुसन्धान सम्पन्न हुन लागेको ठानिएको छ। तर म्युलरले गरेको छानबिनका आधारमा म्यानफोर्टलाई कुनै अभियोग लगाइएको थिएन।

न्यायाधीशले म्यानफोर्ट रुससँग मिलेको भन्ने विषयसँग अहिलेको मुद्दाको सम्बन्ध नभएको बताएका सञ्चारमाध्यमहरूले जनाएका छन्। म्युलरले आफ्नो प्रतिवेदन चाँडै महान्यायाधिवक्तालाई बुझाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ