आइतबारको दुर्घटनापछि बोइङलाई करिब ३० खर्बको नोक्सानी
एजेन्सी
प्रकाशित २०७५ फागुन २९ बुधबार
241
Shares
काठमाडौं । आइतवार इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना भएसँगै बोइङका् शेयर बजारमा ठूलो गिरावट आएको छ । सोमवार र मंगलवारको शेयर बजारमा बोइङले २६ अर्ब ६० करोड डलर अर्थात् झण्डै ३० खर्ब नेपाली रुपैयाँ बराबरको नोक्सानी सामना गरेको छ ।
गत शुक्रवार बजार बन्द हुँदाको तुलनामा बोइङको शेयर मंगलवार ११ प्रतिशतले कमजोर बनेको थियो । बुधवारको बिहानको कारोबारमा भने उसको शेयरमा केही सुधार आएको छ । कम्पनीको सो मोडलका विमानलाई चीनदेखि मेक्सिकोसम्मका मुलुकले प्रतिबन्ध लगाएसँगै कम्पनीको शेयरमा पनि त्यसको नकारात्मक प्रभाव देखिएको हो ।
आइतवार इथियोपियाको अदिस अबाबाबाट नाइरोबीका लागि छुटेको विमान उडेको केही समयमा नै दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १ सय ५७ जना मानिसको ज्यान गएको थियो । पाँच महिनाअघि इन्डोनेसियामा लायन एयरको सोही विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी १ सय ८९ जनाले ज्यान गुमाएका थिए ।
अहिले अमेरिका बोइङको पक्षमा बोल्ने एक्लो मुलुक भएको छ । अमेरिकाले भने अहिलेसम्म बोइङलाई प्रतिबन्ध लगाएको छैन । विश्वका दुई तिहाइ बोइङका विमानमा प्रतिबन्ध लागिसकेको छ ।