काठमाडौं । लियोनल मेस्सी चम्केपछि स्पेनिश क्लब बार्सिलोनाले सजिलै युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु मैदानमा बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई ५–१ गोल अन्तरले हराएर समग्रमा ५–१ कै जितका साथ अन्तिम आठमा पुगेको हो ।
पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
बुधबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।
त्यसैगरी फिलिप काउटिन्हो, जेरार्ड पिके र उसमान डेम्बेलेले एक एक गोल गरे । लियोका लुकास टुसार्टले एक गोल फर्काए ।
बार्साले घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा क्लबले मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
काउटिन्होले ३१ औं मिनेटमा बार्साको अग्रता दोब्बर बनाए । टुसार्टले ५८ औं मिनेटमा गोल गर्दै लियोनलाई खेलमा फर्काउने कोशिश गरे । तर बार्साले त्यसपछि लगातार तीन गोल थप्यो ।
मेस्सीले ७८ औं मिनेटमा बार्सालाई ३–१ को स्थितिमा पुर्याएका थिए । पीकेले ८१ औंं मिनेटमा बार्सिलोनाका लागि चौथो गोल गरे । खेल सकिन ४ मिनेट अगाडी डेम्बेलेले क्लबका लागि पाँचौ गोल गरेका थिए ।
बार्सिलोना लगातार एक दर्जन पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगिसकेको छ । एकलाख समर्थकहरु नोउ क्याम्पमा बसेर प्रत्यक्ष खेल हेरेका थिए ।