arrow

प्रहरीकै आँखै अगाडी हत्याका आरोपी अदालतबाटै कसरी भए फरार?

logo
प्रकाशित २०७२ चैत १ सोमबार
बर्दिया। कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जिल्ला अदालतबाटै फरार भएका छन्। आइतबार जिल्ला अदालतमा थुनछेक आदेश बहस चल्दै गर्दा बर्दिया ठाकुरद्वारा–४ सुतैयाका २३ वर्षीय टोपे भनिने अजिव बूढा क्षेत्री जिल्ला अदालतबाटै फरार भएका हुन्। 
 
प्रहरीको सुरक्षाका साथ अदालत लगिएपनि अदालतको शौचालय पसेका बूढा क्षेत्री शौचालयकै भेन्टीलेसनबाट भागेको प्रहरीले जनाएको छ। शौचालय गएको १० मिनेटसम्म पनि उनी बाहिर नआएपछि प्रहरीले ढोका ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि भेन्टीलेसनबाट भित्र हेर्दा कोही नदेखिएपछि भेन्टीलेसनबाटै भागेको थाहा भएको प्रहरीले बताएको छ। 
 
फागुन ५ गते ठाकुरद्वारा ४ सुतैयाका ६९ वर्षीय जोरे थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
शौचालयभित्रबाटै बन्द रहेको र भेन्टीलेसन खुल्ला रहेकाले त्यहीबाट अभियुक्त भागेको ठहर गरिएको छ । शौचालय जाँदा प्रहरीले उनको हातको हतकडी खोलिदिएको थियो । हतकडी खोलेकाले नै उसलाई भाग्न सजिलो भएको बताइएको छ । फरार अभियुक्तको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । 
 
मृतक थापाका छोरा डम्मर थापाले प्रशासनको लापर्बाहीका कारण हत्यारा भागेको आरोप लगाएका छन् । अदालतबाटै अभियुक्त फरार हुँदा अदालतमा सुरक्षाको विषयमा प्रश्न चिह्न खडा भएको छ । प्रहरीले आवश्यक सतर्कता नअपनाउँदा आरोपी फरार भएको भन्दै मृतकका आफन्तले प्रशासनको विरोध गरेका छन्। उनीहरुले अभियुक्तलाई पुन नियन्त्रण गरि कार्वाहीको दायरामा ल्याउन माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ