arrow

गाडी उत्पादन गर्न १० अर्ब लगानी स्वीकृत, सम्मेलनका लागि ६३ परियोजना तय

logo
प्रकाशित २०७५ चैत २ शनिबार
lagani_board_meeting.jpg

काठमाडौं । नेपाल लगानी बोर्डले दक्षिण कोरियाको एक कम्पनीलाई नेपालमा नै गाडी उत्पादन गर्नको लागि स्वीकृति दिएको छ । शुक्रबार साँझ बसेको बोर्ड बैठकले कोरियाको मोट्रक्स कम्पनी लिमिटेडलाई नेपालमा गाडी उत्पादन गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ । 

बोर्डले १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गरेसँगै अब कम्पनीलाई नेपालमा कम्पनी दर्ताको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । त्यस्तै बैठकले अरुण तेस्रो जलविद्युत परियोजनाको विकास कर्ता कम्पनी एसआईभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्रा लि. लाई उक्त परियोजनाको लागि वित्तीय व्यवस्थापनको म्याद ३० जुन २०१९ सम्म थप गर्ने निर्णय पनि गरेको छ । 

लगानी सम्मेलनको तयारीको बारेमा छलफल गर्न बसेको बोर्ड बैडकले विभिन्न क्षेत्रका ६३ वटा परियोजनाहरुलाई पनि लगानी सम्मेलनमा दाताहरुलाई देखाउने परियोजनाको रुपमा राख्ने निर्णय समेत गरेको छ । ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृति गरी आगामी लगानी सम्मेलनमा प्रस्तुति करण गर्ने निर्णय गरिएको लगानी बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए । 

उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए। उनले उक्त सम्मेलनलाई अर्थपूर्ण बनाइ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन निर्देशन दिए।

सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिए। सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आगामी सम्मेलनका लागि भएका तयारीबारे बैठकलाई जानकारी गराएका थिए।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, मूख्य सचिव लोकदर्शन रेग्मीलगायतको सहभागिता थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ