मलेसियाका ६ सय बढि नेपालीद्वारा धुर्मुस सुन्तलीलाई सहयोग
प्रकाशित २०७५ चैत ३ आइतबार
654
Shares
मलेसिया । धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माण हुन् लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को लागि मलेसियाको जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले आर्थिक सहयोग गरेका छन् । जेसिवाइ कम्पनिमा कार्यरत ६ सय २१ जना श्रमिकहरुले आइतवार धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ हजार ७ सय ४७ मलेसियन रिंगेट अर्थात २ लाख ३३ हजार ९ सय ८२ रुपैँया नेपाली सहयोग पठाएका हुन् ।
सहयोग रकम पठाउँदै उनीहरुले सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने विश्वास व्यक्त गरे । प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वानसमेत गरेका छन् ।
यो कम्पनीमा कार्यरत श्रमिकहरुले यसअघि पनि थुप्रैपटक सामाजिक कार्यका लागि सहयोग संकलन गरेर पठाएका थिए । धुर्मुस सुन्तलीले मलेसियाको कम्पनीमा रहेर काम गर्दा पनि देशका बिकास चाहने सबै नेपालीहरुलाई धन्यवाद दिए । ‘उहाँहरुले जस्तै सबैले आफ्नो देशको बिकासका लागि थोरै थोरै सहयोग गरे पक्कै देश बिकास हुन धेरै समय लाग्दैन’ धुर्मुसले भने ‘सहयोग आर्थिक मात्र होईन् हरेक किसिमको हुन सक्छ ।’
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि देशबिदेशबाट सहयोग उठ्ने क्रम जारी छ । अहिले धुर्मुस सुन्तली संगैं अभियानमा थुप्रै कलाकारहरु समेत जोडिएका छन् ।