arrow

“म सभामुख हुँ, मेरो अधिकार कति छ, पदको गरिमा बुझेको छु"

व्यवस्थापिका–संसद् कार्य सञ्चालन नियमावली नबनिसकेको, संसदीय सुनुवाइ समिति गठन नभएकाले सोसम्बन्धी जानकारीमात्रै

logo
प्रकाशित २०७२ चैत १ सोमबार
Onsari.jpg.jpeg
काठमाडौँ । सभामुख ओनसरी घर्तीले न्यायाधीस सिफारिसको विषयमा आफूले न्याय परिषद्लाई सामान्य जानकारी पत्रमात्रै पठाएको बताउनुभएको छ । 
 
सिंहदरबारमा आज आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले व्यवस्थापिका–संसद् कार्य सञ्चालन नियमावली नबनिसकेको, संसदीय सुनुवाइ समिति गठन नभएकाले सोसम्बन्धी जानकारीमात्रै गराएको उल्लेख गर्नुभयो । 
 
उहाँले भन्नुभयो– “म सभामुख हुँ, मेरो अधिकार कति छ, पदको गरिमा बुझेको छु, मेरो जिम्मेवारी के हो भन्ने थाहा छ । मैले हचुवामा निर्णय गरेको होइन, यथार्थता के हो सोको जानकारी मात्रै गराएको हुँ ।’’ 
 
सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाइएपछि सभामुख घर्तीले त्यसलाई फिर्ता पठाएको भन्दै सम्बद्ध पक्षबाट आलोचना भएपछि सभामुख घर्तीको तर्फबाट आज उक्त धारणा आएको हो । 
 
दलहरुबीच सहमति हुन नसक्दा व्यवस्थापिका–संसद् कार्य सञ्चालन नियमावलीले पूर्णता पाउन सकेको छैन भने संसदीय सुनुवाइ समितिमा रहने सदस्यको विषयमा मतैक्य हुन नसक्दा थप जटिलता पैदा हुँदै आएको छ । 
 
सभामुख घर्तीले भन्नुभयो – “न्याय परिषद्ले सिफारिस गरेको न्यायाधीशका विषयमा विवाद जस्तो भएको छ । विवादको विषय बनाउनु हुँदैन । नियमावली बनिनसकेको र सुनुवाइ समिति गठन नभएको अवस्थामा सुनुवाइ हुन सक्दैन भनेर जानकारी गराएको हुँ । मैले निर्णय गरेको होइन ।’’ 
 
विगतमा पनि सुनुवाइ समितिमा आएको नाममा सुनुवाइ हुन नसकेको नजिरका आधारमा मात्रै आफूले त्यसखालको पत्र पठाएको उहाँको कथन छ । 
 
सामान्य विषयलाई चर्चा र परिचर्चाको विषय बनाइएको, विवाद बढाउन खोजिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । आफूले प्रमुख राजनीतिक दल र प्रधानन्यायाधीशसँग पनि पछिल्लो विषयबारे छलफल गरेको जानकारी दिँदै सभामुख घर्तीले नियमावलीलाई तत्काल टुङ्ग्याउन र सुनुवाइ समितिको विवाद हल गर्न सम्बद्ध पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । 
 
उहाँले भन्नुभयो – “व्यवस्थापिका–संसद्को बैठक शीघ्र बोलाएर सबै विवादित विषयमा समाधान खोज्न म तयार छु । मेरोतर्फबाट पहल भएको छ । दलहरुलाई मैले तत्काल नियमावलीमा सहमति खोज्न आग्रह गरेको छु ।’’ 
 
न्याय परिषद्मा समेत सम्पूर्ण सदस्यहरु नरहेको अवस्थालाई मात्रै आफूले सामान्य जानकारी गराएको उहाँको थप प्रस्टोक्ति थियो । यस्तै उहाँले फरक एक प्रसङ्गमा सांसद् ल्यारक्याल लामा पक्राउ पर्नुभन्दा पहिले नै आफूलाई जानकारी गराइएको बताउनुभयो । 
 
नेपाल इन्भेस्टमेन्ट बैंक दरबारमार्ग शाखाको लकरमा १४ थान गोली भेटिएपछि सांसद लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको थियो । अकूत सम्पत्ति कमाएको उजुरीका आधारमा लामालाई आयोगले छानबिन गरिरहेको थियो । सांसद लामा हाल निलम्बित अवस्थामा हुनुहुन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ