काठमाडौं। नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट अधिकांश नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरु नै निर्वाचित भए। सभापतिमै नेविसंघ संस्थापक अध्यक्ष शेरबहादुर देउवा विजयी भए । देउवा विद्यार्थी राजनीतिबाटै कांग्रेस बरिष्ठ नेता हुँदै सभापति सम्म पुगे। तीन पटक प्रधानमन्त्री भइसकेका देउवा नै नेविसंघका पहिलो अध्यक्ष भएका थिए। देउवा महाधिवेशनमा भएको पुनः निर्वाचमान रामचन्द्र पौडेललाई हराउँदै सभापति भए।
यस्तै, ज्ञानेन्द्र बहादुर कार्की खुला केन्द्रीय सदस्य निर्वाचित भए। संसदको कृषि जलश्रोत उपसमितिका सभापति समेत भइसकेका कार्की समेत नेविसंघकै राजनीतिबाट कांग्रेस केन्द्रीय सदस्य सम्म पुगे । विमलेन्द्र नीधि पटक–पटक मन्त्री बनिसकेका छन्। उनी यसअघि समेत कांग्रेस केन्द्रीय सदस्य थिए । नीधिको जनकपुरमा बलियो पकड छ। नीधिले समेत विद्यार्थी राजनीनिबाटै कांग्रेस केन्द्रीय कार्यसमितिमा उपस्थिति जनाएका थिए।
विद्यार्थी राजनीतिबाटै आएका बलबहादुर केसी, बाल कृष्ण खाँण, एन पी साउँद समेत खुलाबाट केन्द्रीय सदस्य निर्वाचित भए। उता, कल्याण गुरुङ जनजाती आरक्षणबाट केन्द्रीय सदस्य चुनिएका छन्। गुरुङका विगतसमेत नेविसंघको नेतृत्वसंग जोडिएको छ।
यसैगरी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल समेत विद्यार्थी राजनीतिबाटै कांग्रेको केन्द्रीय कार्यसमितिमा पुगेका छन्। विश्वप्रकाश केन्द्रीय समितिमा नयाँ अनुहार हुन्, भने प्रदीपले मनोनयन र धनराजले जनजातीबाट केन्द्रीय कार्यसमितिको अनुभव लिइसकेका छन्।
यस्तै, गोविन्द भट्टराई र गुरुराज घिमिरे समेत प्रदेशबाट केन्द्रीय समितिमा आउने लगभग पक्का पक्कि जस्तै भएको छ। घिमिरे प्रदेश १ र भट्टराई प्रदेश ४ बाट अग्रस्थानमा छन्।