विश्वसनीयता घट्न थालेपछि चीनको केन्द्रीय बैंकद्वारा नक्कली नोट छाप्न प्रतिबन्ध
प्रकाशित २०७५ चैत ५ मंगलबार
289
Shares
काठमाडौं । चीन सरकारले चिनियाँ नोट प्रति विश्वसनीयता घट्न थालेपछि नक्कली नोट छाप्न प्रतिबन्ध लगाएको छ । सोमबार चिनियाँ राष्ट्र बैंकले एक विज्ञप्ती जारी गरी एक चिनियाँ संस्कृति अनुसार समाधिस्थलमा जलाउनको लागि बनाउने गरिएको चिनियाँ नक्कली नोट छाप्न नपाउने व्यवस्था गरेको हो।
चीनको प्राचीनताको इतिहास बोकेको क्विङ्गमिङ पर्वको दिन चिनियाँहरुले नक्कली नोट बनाएर जलाउने गरेका छन् । त्यो संस्कृति चिनियाँहरुको पुरानो संस्कृति हो । पूवी एशियाको जनजाती समूह हान समुदायले मनाउने सो पर्वलाई चीनमा चिङमिङ पर्वको रुपमा पनि चिनिन्छ । दिन र रात बराबर हुने मार्च २१ देखि १५ दिनसम्म चल्ने सो पर्वमा चिनियाँहरु पूर्खाको समाधि नजिक गएर उनीहरुको सम्झनामा पैसा जलाउने गर्दथे । मृतकहरुको समाधिमा गएर यसरी नोट जलाउँदा मृतकको आत्माले शान्ति पाउने विश्वास त्यो समुदायको छ।
यसरी जलाउनको लागि यस अघिसम्म नक्कली चिनियाँ मुद्रा बनाउने र त्यसैलाई जलाउने गरिएको थियो । तर, सो नक्कली मुद्रा बजारमा समेत प्रवाह भएको आशंकापछि चिनियाँ राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । उनीहरुले यसलाई पूर्खाको पूजा समेत भन्ने गरेका छन् । ग्लोबल टाईम्सले तयार पारेको एक रिपोर्टमा चिनियाँहरुले सोही नक्कली नोट मध्ये ५० र ५०० युआन विक्री हुँदै गरेको देखेको स्थानीयहरुलाई उद्दृत गर्दै उल्लेख गरिएको छ ।
व्यापार युद्धका कारण चिनियाँ नोटमाथिको विश्वासमा ह्रास आईरहेको बेलामा चीनले भने यसलाई नयाँ ढंगले व्याख्या गरेर नक्कली नोटमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकासँग मुद्रा अवमूल्यन नगर्ने सम्बन्धी सहमति भएपनि केही महिना अघि चीनको मुद्रा अवमूल्यन सबैभन्दा तल पुगेको थियो ।
४ महिना अघि ब्लुमबर्गको एक रिपोर्टका अनुसार चिनियाँ युआन दशककै सबैभन्दा कम विन्दूमा पुगेको देखाईएको थियो । सो समयमा चिनियाँ बजारमा एक अमेरिकी डलर बराबर ६।९६ युआनको दर कायम रहेको र ब्यापार विवाद रहँदासम्म चिनियाँ युआन कमजोर नै रहने सम्भावना भएको केजिआई एसियाका कार्यकारी निर्देशक बेन कोङले ब्लुमवर्गलाई बताएको उल्लेख थियो।
यद्यपि यो अवस्था पछिल्लो समय केही सुधार हुँदै गएको छ । यस्तो स्थितिमा अमेरिकाले भने चीनले यूआनलाई थप कमजोर हुन दिने बताउँदै आएको छ । यसको कारक तत्व चिनियाँ सामानमाथि अमेरिकाले करवृद्धिलाई देखाउने र यसअघि गर्दै आएको मौद्रिक ‘म्यानिपुलेसन’लाई वैध बनाउने रणनीति भएको दावी गरेको पनि कार्यकारी निर्देशक कोङले बताए ।