arrow

नेपाललाई सधै भारत तगारो

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
saff-india-champion.jpg

काठमाडौँ। नेपाललाई सधै भारत तगारो बन्दै आएको छ। यसपटक पनि तगारो बन्यो। उसको भूमिमा त तगारो बनेकै हो। नेपालले आफ्नो भूमिमा पनि भारतलाई हराउन सकेन।

प्रसंग हो पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको। विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार (चैत ८ गते) भएको फाइनल खेलमा नेपाल भारतसंग ३–१ गोल अन्तरले पराजित भयो। नेपालले २६ औं मिनेटमा गोल खायो। डालिमा चिबरले गोल गरिन्। त्यसको लगत्तै अर्थात् ३३ औं मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ ले गोल फर्काइन्। खेल १–१ को बराबरीमै चलिरहेको थियो।

खचाखच दर्शकले भरिएको रंगशालामा नेपालको पक्षमा माहोल बन्दै थियो। १२ औं खेलाडी जतिसुकै चित्याए पनि मैदानभित्र भएका ११ खेलाडीबीच तालमेल नमिलेपछि कसको के लाग्छ र। ६३ औं मिनेटमा ग्रेस डाङमी र ७८ औं मिनेटमा अञ्जु तामाङले गोल गर्दै ३–१ को स्थितिमा ल्याएपछि नेपाल त्यतिबेलै हारिसकेको थियो। नेपालले त्यसपछि गोल फर्काउन सकेन र पुरानै नतिजा सुम्पिनु पर्यो। 

नेपालले यसअघि पनि निरन्तर भारतसंग पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको थियो। यसपटक पनि त्यस्तै भयो। भारतले यसअघि तीन पटक नेपाललाई फाइनलमा हराइसकेको थियो। 

एक पटक नेपालको भेट भारतसंग सेमिफाइनलमा भयो र त्यो सेमिफाइनलबाटै नेपाल बाहिरिनु पर्यो। पटक पटक नेपाल भारतसंगै पराजित हुनुपरेको छ। तर यसपटक माहोल फरक थियो। नेपालले भारतसंग हार्नुपर्ने यसपटक कुनै कारण थिएन। सस्त्रअस्त सबै प्रयोग भएका थिए। प्रशिक्षण निरन्तर थियो। 

पुरुष फुटबलको हारको बदला लिन नसकेका मुख्य प्रशिक्षक हरि खड्काले महिला टिम सम्हालेपछि एकाएक चमत्कार भइरहेको थियो। नेपालले भारतलाई उसकै भूमिका हिरो गोल्डकप फुटबलमा हराइसकेको थियो। 

त्यसलगत्तै खेलेको प्रतियोगितामा नेपालले हार्ने भन्ने कतै सम्भावना नै थिएन। टिम स्पिरिट थियो। घरेलु मैदान थियो। र, पनि हार्यो। हारका अगाडि जित छ भन्नेहरुका लागि नेपाली टिमले हारका अगाडि हारै छ भन्नेमात्र देखाइदियो। 

त्यसैले त नेपालले हारेको केही समयपछि फेसबुकमार्फत प्रशिक्षक खड्काले नेपाली खेल प्रशंसक र अखिल नेपाल फुटबल संघ एन्फासंग माफी मागे। सम्भवतः यो माफी अर्को पटकका लागि राम्रो गर्ने प्रण पनि हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ