arrow

देउवाले देलान् त पौडेललाई बरिष्ठ नेता ?

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टी संचालन कसरी सुरु गर्लान् भन्ने अहिले सवैको चासोको विषय बनेको छ । 
 
पराजित भएकाहरुलाई र फरक फरक समुहका नेताहरुलाई उनले कसरी समेट्लान भन्ने नै सवै भन्दा बढी जिज्ञासाको विषय रहेको छ । 
 
यसअघिका महाधिवेशनमा आफु सभापतिमा पराजित भएपछि पार्टीको बरिष्ठ नेताको पदका लागि दवाव दिने गरेका देउवाले अहिले आफुसंग पराजित पौडेललाई देलान की नदेलान भन्ने आशंका पनि गरिएको छ । कतिपय नेताहरुले पौडेललाई बरिष्ठ नेता बनाउन नपर्ने दवाव पनि दिदै आईरहेकाले आशंका गरिएको हो । 
 
हुन त पार्टीको विधानमा बरिष्ठ नेता भन्ने पद नभएकाले बरिष्ठ नेता बनाउनै पर्दछ भन्ने वाध्यता देउवालाई छैन । तर आफुले लिईसकेको र पार्टी भित्रको परम्परा जस्तो भईसकेकाले पौडेललाई बरिष्ठ नेता बनाउनु पर्ने नैतिक दवाव देउवालाई परेको छ । बरिष्ठ नेताको मनोनयन केन्द्रीय कार्यसमितिको निर्णयबाट गर्ने गरिएको छ । 
 
केन्द्रीय कार्यसमितिको निर्णयका आधारमा दिईने बरिष्ठ नेताको मर्यादा क्रम पार्टीमा दोस्रो हुने गरेको छ । यसलाई पदाधिकारी नै मान्ने गरिएको छ । तर देउवाका निकै निकट र पार्टी भित्र निकै लोकप्रिय तथा प्रभावशाली देखिएका बालकृष्ण खाँणले पदाधिकारीमा पराजितहरुलाई मनोनयन गर्न नहुने अभिव्यक्ति दिएपछि उनीहरुका विचमा यस बारेमा पनि आन्तरिक वहस भईरहेको छ । कतिपयले खाँणको अभिव्यक्तीलाई एकदमै उपयुक्त भनेका छन् भने कतिपयले अव्यवहारिक भनेका छन् । 
 
नेता खाँणले पदाधिकारीमा पराजितलाई मनोनयन गर्न नहुने बताएपछि पौडेललाई बरिष्ठ नेता बनाउने विषयमा भने धेरैको स्वभाविक सहमति देखिन्छ । तर त्यो निर्णय कहिले गर्लान् भन्ने जिज्ञाशा भने अधिकाँशमा देखिन्छ । यो जिज्ञासाको उत्तर आउन कम्तीमा एक हप्ता लाग्ने देउवा निकट एक नेताले जानकारी दिए । 
 
अर्का एक नेताका अनुसार निर्वाचित सवैलाई काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र दिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने छ । निर्वाचन समितिले निर्वाचितहरुको घोषणा तथा प्रमाणपत्र वितरण कहिले गर्ने भन्ने निर्णय गर्न सकेको छैन । नेताहरुको सल्लाहमा घोषण सभा तथा प्रमाणपत्र वितरण कार्यक्रम गर्ने तयारी भईरहेको निर्वाचन समितिका सचिव प्रदिप पराजुलीले जानकारी दिए । उनले आज मंगलवार केन्द्रीय कार्यालयको सरसफाई गरिने र आजै साँझ सम्म घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रम कहिले गर्ने भन्ने निधो हुन सक्ने बताए । पर्सी बुधवार प्रमाणपत्र वितरण कार्यक्रम हुने सक्ने उनले अनुमान गरे । बुधवार सो कार्यक्रम भएपनि निर्णय गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठकपनि केहीदिनपछि मात्रै हुन सक्ने नेताहरुको भनाई छ । सो बैठकले मात्रै बरिष्ठ नेताको निर्णय गर्ने भएकाले झण्डै एक हप्ता लाग्ने देखिन्छ । 



नयाँ