arrow

रामशरण महतले भने ‘समस्याबाट निस्किएर नेपाल स्वच्छ ऊर्जाको पावरहाउस बनेको छ'

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
ramsaran_mahat.jpg

काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महतले नेपालमा पछिल्लो समय लगानीको वातावरण उच्च हुँदै गरेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजना भएको लगानी सम्मेलन २०७५ को उद्घाटन शत्रमा बोल्दै डा महतले विसं २०४६ को परिवर्तनपछि नेपालमा निजी क्षेत्रलाई लगानीका लागि अभिप्रेरित गरिएको तथ्य पेश गर्दै पछिल्लो दिनमा निजी क्षेत्रले हवाई, दुरसञ्चार तथा ऊर्जा क्षेत्रमा ठूलो सफलता हासिल गरेको बताए । 

नेपालले विगतका दुई दशकमा राजनीतिक अस्थिरता, भूकम्प जस्ता ठूलो समस्या भोगेको उल्लेख गर्दै ती समस्याबाट बाहिर निस्केर नेपाल अहिले नयाँ स्थानमा आइपुगेको उल्लेख गरे। मानवविकास सूचाङ्कमा समेत नेपालले लगातार सफलता हासिलगर्दै आएको उद्धृत गर्दै पूर्वअर्थमन्त्री डा महतले यतिखेर नेपाल केवल १५ प्रतिशतमात्रै गरिबीको रेखामुनी रहेको बताए। गरीबी निवारणमा नेपालले नेतृत्व गरेको र दक्षिण एशियामा नै अग्रस्थानमा रहेको तथ्य पेश गर्दै उनले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषणले पनि गरीबी निवारणमा सहयोग गरेको छ भने । 

आर्थिक विकासका लागि यतिखेर नै महत्वपूर्ण अवसर भएको भन्दै उनले स्वदेशी लगानीले मात्रै धेरै क्षेत्रमा प्रगति गर्न नसकिएकाले विदेशी लगानी जरुरी रहेको बताए। सम्मेलनमा दर्जनौं भौतिक पूर्वाधारसँग जोडिएका परियोजना प्रस्तुत गरिएको जानकारी दिँदै उनले धेरै क्षेत्रमा लगानी गर्न सकिने बताए। नेपालमा कडा परिश्रम गर्नसक्ने जनशक्ति रहेको र अन्तर्राष्टिय क्षेत्रमा समेत नेपालीले ख्याती कमाएको भन्दै उनले नेपाल स्वच्छ ऊर्जाको पावरहाउस रहेको बताए। 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० क्षेत्रमा ऊर्जा आदानप्रदानका लागि सहमति भएको, बङ्गलादेशसँग पनि सहमति भएको तथ्य पेश गर्दै उहाँले नेपालमा कृषि, जडीबुटी, उच्च मूल्यप्राप्त हुनसक्ने खेतीसमेत गर्न सकिने स्पष्ट पारे । सम्मेलनका क्रममा आज नै नेपालमा लगानीको अवसर विषयमा छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ । 

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ