arrow

विरोधको नयाँ शैली : जंगलको फोहर नगरपालिकाका हाकिमको टेबलमा

नगरको बेहाल : कार्यालयका सबै कक्ष फोहरमय

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
Doti-news-1.jpg.jpeg
डोटी। दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा सामुदायीक वन उपभोक्ताले वन क्षेत्रको फोहर कार्यालयमा ल्याएर छरपस्ट पारे। त्यति मात्र नभई हाकिमकै टेवलमा समेत फोहर बोटल, सीसीहरु थुपारिदिए। दिपायल सिलगढी नगरपालिका –१ मा रहेको चिसापानी सामुदायीक वन उपभोक्ता समितिका उपभोक्ताले कार्यकारी अधिकृतको कार्यकक्षको टेबल र  कार्यालय भित्र फोहरको थुपारिदिएका हुन्। 
 
नगरपालिका क्षेत्रबाट निस्कने फोहर व्यवस्थापन नगरेको विरोधमा वन उपभोक्ताले कार्यालयमै फोहर ल्याई थुपारे। जंगल क्षेत्रमा  अव्यवस्थित रुपमा फालिएका रक्सीका बोतल तथा  प्लास्टिक जन्य फोहर कार्यालयमा थुपारेपछी कर्मचारी आश्चर्य चहकित भए। कार्यकारी अधिकृत राजबहादुर शाही कुर्सीमा बसेरका काम गरिरहेकै अवस्थामा एक्कासी टेबलमा बोटल र सीसीजन्य फोहरको थुप्रो बज्रिएपछी कुर्सीबाट उठेर नाक थुन्दै बाहिर निस्किए।
 
आक्रोशित वन उपभोक्ताले कार्यकारी अधिकृतको कक्ष, योजना शाखा, प्रशासन शाखा, लेखा शाखा र प्राविधिक शाखा लगाएत कोठाहरुमा बोराका बोरा फोहर फोहर ल्याएर छरिदिए। प्रदर्शन गर्नेहरु महिला बढी थिए। २०–२५ जनाको समूहमा रहेका महिलाहरुले एक्कासी कार्यकारी अधिकृत कोठा लगाएत नगरपालिका परिसरमा काचका बोतल फ्याक्नुका साथै बोतल बोकेर ल्याएका बोराहरु समेत नगरपालिकाको प्रवेश द्धार अघि जलाएका छन्।
 
चिसापानी सामुदायीक वनका उपभोक्ताले रक्सिका बोतलको मार खेप्नु परेको र  अझैपनि सिसाका बोतलको व्यवस्थापन नगरिए थप कडा आन्दोलन थाल्ने समूहको नेतृत्व गरेकी मन्जु मलासीले बताइन्। उले भनिन्, ‘काँचका बोटल फुटेर सामुदायीक वनमा घाँस दाउँरा र स्याउँला गर्न कठिनाई भयो, कयौं स्थानीयले फोहर र काँचका टुक्राको चोट खेप्नु परेको छ।’ महिलाले नगरपालिकाको कार्यकक्षमा नै आएर यस्तो अमानवीय हर्कत गर्नु कानुन विपरित भएको कार्यकारी अधिकृत राजबहादुर शाहीले बताए। उनले भने, ‘माग राख्ने विभिन्न तवर तरीका हुन्छन्, यो ठाडै अमानवीय हर्कत हो।’
 
सामुदायीक वन उपभोक्ता महिलाहरुले गरेको मागप्रति आफ्नो ध्यान आकर्षण  भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसै, सन्दर्भमा यो घटनालाई मध्यनजर गर्दै संयमता पूर्वक अगाडी बढ्ने प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आचार्यले बताए। 
 
बल्ल बन्ने भो डम्पीङ साइड 
दिपायल सिलगढी नगरपालिकाले फोहरको व्यवस्थापन राम्रोसंग नगर्दा समस्या भएको भन्दै वन उपभोक्ता आन्दोलित भएसंगै डम्पीङ साइड निमार्णको काम अघि बढ्ने भएको छ। जिल्ला प्रशासन कार्यालय डोटीको पलहमा भएको छलफलमा डम्पीङ क्षेत्र निमार्ण गर्ने आफुहरुबाट भएका गल्तीको समिक्षा गर्ने सहमती भएको छ।
 
डम्पीङ साइड निमार्णका लागि चिसापानी क्षेत्रमा टोली गएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आर्चायले जानकारी दिए । उनले भने, ‘दुबै पक्ष बीच सहमती भएको छ, डम्पीङ साइड हेर्न सर्वपक्षिय टोली डम्पीङ बन्ने भनिएको दिपालय सिलगढी नगरपालिका –१ पुगेर फर्किएको छ ।” डोटीमा नगर क्षेत्रको फोहर व्यवस्थापन गनै निकै समयअघिबाट डम्पीङ र ल्याण्डफिल साइड निर्माणको विषय उठेको थियो । यद्यपि, कार्यान्वयन अझै हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ