arrow

बाख्रापालनमा रमाउँदै युवा, मासिक एक लाखभन्दा बढीको आम्दानी

logo
दीपक बोहरा,
प्रकाशित २०७५ चैत १९ मंगलबार
goat-pumpkin.jpeg

दाङ । दाङका एक युवाले बाख्रापालन गरेर विदेशभन्दा राम्रो कमाइ गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ का २३ वर्षीय देवराज ओलीले बाख्रापालन गरेरै मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

“विदेशमा ४०-५० हजार मात्रै आम्दानी हुन्थ्यो”, उनले भने, “तर अहिले नेपालमै बाख्रापालन गरेर एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको छु ।” विदेशभन्दा नेपालमा पसिना बगायो भने सम्मानित र राम्रो आम्दानी आफ्नै ठाउँमा गर्न सकिने भन्दै उनले गाउँमै कृषि पेशा अंगाल्नसमेत युवालाई आग्रह गरे ।

एक वर्ष मलेसिया बस्नुभएका उनले विदेशमै हुँदा इन्टरनेटमा व्यावसायिक बाख्रापालनको विषयमा लेखिएको समाचार पढेपछि बाख्रापालन गर्ने प्रेरणा मिलेको बताए । विसं २०७३ मा सिर्जनशील बाख्रा तथा कृषि फार्म सञ्चालनमा ल्याएर व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।

साथै पछिल्लो समय दुईवटा बोयर जातका बाख्रा पालन गर्नुभएको उनले जानकारी दिए । “मासु पनि धेरै हुने र छिटो छिटो बढ्ने, मासु पनि महँगो हुने भएकाले बोयर ल्याएको हुँ”, उनले भन्नुभयो, “रु एक लाख २५ हजारमा दुईवटा बोयर ल्याएको हुँ, यी दुईवटाबाट राम्रो आम्दानी भएपछि थप बोयर ल्याउने योजना बनाएको छु ।” चार-पाँच वटा बाख्राबाट व्यवसाय शुरु गर्नुभएका उनले  शुरुमा करीब रु सात लाख लगानी  गरेका थिए । खसी, बोका किन्न ग्राहक घरमै आउने गरेकासमेत उनले बताए ।

वडालाई बोयर बाख्राको केन्द्रका रुपमा विकास गर्ने योजना बनाएको समेत उनले बताए । त्यसका लागि वडामा केही समूह पनि गठन गरेर व्यावसायिक रुपमा कृषि तथा पशुपालन गर्दा अपनाउनु पर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिने गरेका छन् । उनले केही समयपछि उपमहानगरपालिकासँग सहकार्य गरेर बोयर पाल्ने योजना रहेको बताए ।

उनले भन्नुभयो, “विदेशमा फलाममा काम गर्थे, त्यति जटिल काम गर्दा पनि सोचेजस्तो आम्दानी हुन सकेन्, तर नेपालमा त्यतिकै दुःख गरे राम्रो आम्दानी हुने रहेछ ।” उनले व्यावसायिक रुपमा पशुपालन गर्दा रमाइलो लाग्ने गरको अनुभव सुनाउनुभयो । उनले बाख्राका लागि आवश्यक पर्ने घाँसका लागि करीब १८ कट्ठामा विभिन्न प्रजातिका घाँस पनि रोप्नुभएको छ । उपमहमानगरले पनि प्रोत्साहन गरको बताए । कान्छो किसान भन्दै उपमहानगरपालिकाले थप हौसला प्रदान गर्ने गरेको र तारजाली लगाउन रु ५० हजार दिएको उनले बताए ।

समाजमा उत्प्रेरणा जगाउँदै
 उनले बाख्रापालन मात्रै गरेका छैन्न्, समाजमा व्यवसायप्रति लाग्न प्रेरणापनि जगाउँदै आएका छन् । पछिल्लो समय रोजगारको खोजी गर्दै विदेश पलायनलाई कम गरी आफ्नै ठाउँको स्रोत, साधन प्रयोग गरेर पसिना बगाउने हो, भने नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ, भन्ने सन्देश दिँदै आएका छन् । मुलुकको आर्थिक समृद्धिको मुख्य आधार कृषि नै नभएकाले गाउँमा समूह बनाएर सचेतना प्रदान गर्दै आएको उनको भनाइ छ ।
 
उनले बाख्रा मात्रै होइन ‘टर्की’ पालन पनि शुरु गरेका छन् । अहिले दुईवटा टर्की ल्याएर पालन गरेको र राम्रो आम्दानी हुने भएपछि व्यावसायिक रुपमा पालन गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ