arrow

सहकारीलाई उत्पादनमा जुट्न प्रधानमन्त्रीको आग्रह

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
kp-oli3.jpg

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी संस्थालाई उत्पादनमा लाग्न आग्रह गरेका छन् । सहकारी स्थापना भएको ६२औँ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा उनले उत्पादन वृद्धि गर्ने बहानामा विषादीको प्रयोगलाई हटाउन निर्देशन दिए ।

नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो । हाल मुलुकभर ३४ हजार ५१२ सहकारी संस्था छन् ।
 
प्रधानमन्त्री ओलीले शहर केन्द्रीकृत भई बचत तथा ऋण परिचालन गर्दैमा सहकारीको मूल मर्म पूरा नहुने बताउँदै अधिकांश सहकारी संस्थालाई गाउँमा  स्थानीय निकायसँग समन्वय गरी कृषि भूमिको एकीकरणमार्फत उत्पादन वृद्धिमा लाग्न आग्रह गरे।

हाल सञ्चालित सहकारी संस्थामध्ये बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाको सङ्ख्या ४० प्रतिशत छ । उक्त संस्था शहर केन्द्रीकृत छन् । उनीहरुको उत्पादनमा प्रत्यक्ष सहभागिता छैन । नेपालमा बचत तथा ऋण लगानी गर्ने संस्थाको सङ्ख्या १३ हजार ५७८ छ ।

प्रधानमन्त्री ओलीले जमीनको खण्डीकरण रोक्ने, अर्र्गानिक उत्पादनमा किसानलाई प्रेरित गरेर बजारको आवश्कता र पहिचान तथा निर्यातलाई प्रोत्साहन गर्ने काममा जुट्न आग्रह गरे । जमीनको खण्डीकरण रोकी सामूहिक तथा करार खेतीमा किसानलाई गोलबद्ध गरी अगाडि बढ्न सहकारी अगुवालाई आग्रह गर्दै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्न जोड दिए ।

विश्वमा सन् १८४४ बाट सहकारी अभियानको शुरु भएको हो । हाल ३० लाख सहकारी संस्था सञ्चालित छन् । ती संस्थाका एक अर्ब २० करोड सदस्य छन् । नेपालमा विसं २०१० मा सहकारी विभागको दर्ता भई सहकारीका क्रियाकलाप अघि बढिरहेको छ । नेपालमा कूल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान चार प्रतिशत रहेको अनुमान छ । विसं २०७४ को असार मसान्तसम्म ६३ लाख पाँच हजार ५८१ सदस्य छन् भने ७३ अर्ब १७ करोड शेयर पूँजी रहेको छ । ६० हजार जनशक्तिले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडाल र पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटा तथा साना किसान सहकारी संस्था, धार्दिङका अध्यक्ष खेमबहादुर पाठकलाई ‘उत्कृष्ट सहकारी अगुवा’ सम्मान प्रदान गरे । सो सम्मान प्राप्त गर्नुहुने त्रयलाई जनही रु एक लाख ५० हजार नगदसमेत प्रदान गरिएको थियो ।

प्रदेश नं १ को शुभलक्ष्मी सहकारी संस्था, प्रदेश नं २ को  मनोकामना बहुउद्देश्य सहकारी संस्था, प्रदेश नं ३ को लालीगुराँस बहुउद्देश्य सहकारी संस्था, गण्डकी प्रदेशको आदर्श सञ्चार सहकारी संस्था, प्रदेश नं ५ को सामूहिक विकास बचत तथा ऋण, कर्णाली प्रदेशको साना किसान सहकारी संस्था र सूदुर पश्चिम प्रदेशको विकास वहुउद्देश्यीय सहकारीलाई रु दुई लाखको उत्कृष्ट  व्यवसाय पुरस्कार प्रदान गरियो । त्यसैगरी पत्रकार यादव हुमागाईं र मुना कुँवरलाई रु ५० हजारबाट पत्रकारिता सम्मान प्रदान गरे ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले राज्यबाट सहकारीको प्रवद्र्धन भए पनि अधिकांश सहकारी संस्था गाउँ नगएको जानकारी गराउँदै सहकारीको मर्जर अभियान अत्यावश्यक भएको बताइन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ