arrow

आजतक लेख्छ : नेपाली सेनामा भारत विरुद्ध आईएसआईको घुसपेठको प्रयास

logo
प्रकाशित २०७५ चैत २० बुधबार
aajtak_news.JPG

काठमाडौं। भारतीय सञ्चार संस्था आजतकले नेपाली सेनामा पाकिस्तानी खुफिया एजेन्सी आईएसआईले घुसपेठ गर्न लागेको आरोप लगाएको छ। बुधबार आजतकले प्रकाशित गरेको एक रिपोर्टमा केही समयदेखि नेपाली सेनासँग नजिक हुन थालेको पाकिस्तानले सेनामा नै प्रभाव जमाउने कोशिस गरेको उल्लेख गरिएको हो। 

दुई जना पत्रकारहरुले मिलेर तयार पारेको सो रिपोर्टमा नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा कलेज बनाउने नाममा घुसपेठ गर्न लागेको आरोप लगाएको हो। नेपालको केन्द्रीय राजधानी काठमाडौंमा सो कलेज बनाउने बारे ५ पटक विभिन्न स्थानमा बैठक बसिरहेको र यो बनाउने निश्चितप्रायः रहेको कुरा समेत सो समाचारमा उल्लेख गरिएको छ। 

सो रिपोर्टमा त्यही छलफलको बहानामा काठमाडौं आएका पाकिस्तानी हाई कमिसनले काठमाडौंमा नै बसेर भारत विरोधी गतिविधिहरु सञ्चालन गरिरहेको आरोप समेत लगाएको छ। सुरक्षा एजेन्सीको एक अधिकारीको हवाला दिँदै आजतकले केही दिनभित्र नै पटक पटक यस विषयमा पाकिस्तानी कमिसन र नेपाली सेनाका अधिकारीहरुबीच वार्ता चलिरहेको लेखेको छ। 

नेपालमा एनजिओको माध्यमबाट विदेशी पैसा नेपालमा आईरहेको र सो पैसा तराई भेगका मुस्लिम युवाहरुमा लगानी गरिरहेको आरोप समेत सो रिपोर्टमा उल्लेख गरिएको छ। अघिल्लो वर्षको अगष्ट महिनामा आजतकले नै यस विषयमा एउटा समाचार सार्वजनिक गरेको भन्दै नेपालको मोरङ जिल्लामा आतंककारी मोडल अनुसार काम चलिरहेको आरोप लगाएको छ। खुफिया सूत्रलाई हवाला दिँदै सो रिपोर्टमा भनिएको छ कि मोरङ जिल्लामा लश्कर-ए-तैयबा को समूहमार्फत् भारत विरोधी गतिविधिहरु फैलाउने काम गरिरहेको समेत रिपोर्टमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ