काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौँले गरेको १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवं सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टी भागबन्डा भन्दा पनि काँग्रेस एक ढिक्का बनाउनुपर्छ–भने ।
देउवाले भने, ‘नयाँ संविधान निर्माण भए पनि सङ्घीयताको सवालमा सीमाङ्कनबारे मधेसी समुदायको असन्तुष्टि छ, त्यसलाई समाधान गर्दै संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ, त्यसको नेतृत्व अब काँग्रेसले गर्नुपर्छ ।’ कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व गर्नेप्रति सबैलाई विश्वस्त हुन देउवाले आग्रह गरे ।