arrow

राष्ट्रिय खेलकुदमा हलुवा पराठाले स्वागत

logo
काशीराम शर्मा
प्रकाशित २०७५ चैत २३ शनिबार
nepalgunj-sub-metro.png

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–१३ चौलिका चोकमा मानिस जुट्नुको उद्देश्य फरक छ । जहाँ मानिस भेटघाटका लागि मात्रै जुट्दैनन् । चौलिकामा जुट्नुको मुख्य उद्देश्य हुन्छ हलुवा पराठा (परौठा रोटी) खाई भोक मेटाउने । भोक मेटाउनकै लागि जम्मा भएका मानिसको भीडमा चौलिका चोक हराउँछ ।

हलुवा पराठा बिक्री गर्दै आउनुभएका सञ्चालकद्वय मोहर अलि र जमील अहमद शेषलाई नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको रौनकले छोइसकेको छ । पसलमा पुग्ने ग्राहकसँग खेलकूदका बारेमा सोधीखोजी गरिरहने उहाँहरुले राष्ट्रिय खेलकूदमा भाग लिन आउने पाहुनालाई हलुवा पराठाले स्वागत गर्ने योजना बुनिरहेका छन् ।

नेपालगञ्जमा केही यस्ता खानेकुरा छन् जुन नखाइ यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय यहाँका पर्यायी परिकार हुन् । तीमध्ये नेपालगञ्जको हलुवा पराठा पनि एक हो । चौलिका चोकमा मोहर र जमीलले एउटै परिकार विगत ३३ वर्षदेखि बिक्री गर्दै आएका छन्।

सञ्चालक मोहरले भने, “खेलकूद यही हुँदैछ, हामी निकै खुशी छौं, यहाँ आउने पाहुनालाई हलुवा पराठाले स्वागत गर्ने हो ।” बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपेडीया आवतजावत गर्ने बटुवा उनीहरुले हलुवा पराठा नचाखेका कमै होलान् । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उहाँले अहिलेसम्म नमिठो भयो भन्ने सुन्न परेको छैन ।

बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजाने धेरै भएको उनले सुनाए । नेपालगञ्जमा आयोजना हुने राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिन आउने पाहुना, खेलाडी, प्रशिक्षक र दर्शकको स्वागत गर्न आत्तुर रहेको बताउँदै अर्का सञ्चालक जमीलले भने, “राष्ट्रिय प्रतियोगिता हाम्रो ठाउँमा हुँदैछ, हामी निकै खुशी छौं, बाहिरबाट आएका पाहुनालाई हामी हलुवा पराठाले स्वागत गर्छौ ।”

अन्य स्थानको भन्दा चौलिक्का चोकको हलुवा पराठा नै अधिकांशको जिब्रोले मन पराउने गरेको छ । यहाँको पराठा पसलमा खानेको भिड लाग्ने गरेको छ । खाजाका लागि रिक्सा चालक, टाँगा चालक मात्र होइन मोटरसाइकल र कार चढ्ने पनि आउँछन् । विभिन्न जिल्लाबाट नेपालगञ्ज पुग्नेले समेत उहाँको खाजा पसलमा पराठा र हलुवाको स्वाद लिन पुग्ने गर्दछन् । चोकको पश्चिमतर्फ रहेको खरको छानोमुनि पाकिरहेको हुन्छ नाङ्गलो जत्तिकै ठूलो देखिने पराठा । जुन पराठा रोटी खानुको स्वाद त छँदैछ, बनाएको हेर्न झनै मज्जा आउँछ ।

नाङ्लोभन्दा ठूलो तावामा पकाउनु अघि पराठा पकाउने कालिगढले पिठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपो जत्तिकै ठूलो आकारमा पुर्‍याउँछन् । जुन पराठाको आकारले आधा शरीर छोपिन्छ । छेउतिरबाट हेर्दा पकाउनु अघिको काँचो पराठा पछ्यौरा ओढेजस्तै देखिन्छ । एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उनको भनाइ छ ।

पिठोमा नून र घिउ राखी बनाइएको उक्त पराठा चक्कुले काटेर हलुवा बीचमा राखेर खाने गरिन्छ । दिनमा करीब ४० वटासम्मको पराठा बिक्री हुने अर्का सञ्चालक जमील बताउँनुहुन्छ । हलुवा पराठा खाँदै गर्दा भेटिएका नेपालगञ्ज–२१ का निजाम बेहनाले भोक लाग्दा यहाँ आउने गरेको बताए। रु २५ मा १०० ग्राम पाइने हलुवा पराठाको माग नेपालगञ्जका अन्य स्थानमा पनि बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ