arrow

दक्ष र कर्मठ युवा शक्तिबाटै देश निर्माण– प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
NN-Ktm-PM-NP-(3).JPG.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता जति शारीरिक र मानसिकरुपले सङ्गठित, सवल र सक्रिय रहन्छन् त्यसैअनुरुप देशले विकास र समृद्धिमा सार्थकता पाउने बताएका छन् । राष्ट्रिय सेवा दलको ५०औँ वार्षिकोत्सव तथा सिनियर डिभिजन ११ औँ समूहको दीक्षान्त कवाज समारोहलाई आज सैनिक मुख्यालयमा सम्बोधन गर्दै ओलीले भन्ने– युवाको मनोविज्ञान, क्षमता अभिवृद्धिमा सेवा दलले पुर्‍याएको योगदानको प्रसङ्सा गर्दछु । 
 
सक्षम, कर्मठ, दक्ष, निष्ठावान सक्रिय र सङ्कल्पको भावनाले अभिप्रेरित अनुशासित युवा शक्तिबाट मात्रै राष्ट्र निर्माण सम्भव रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र सेवाको भावना, एकता, समर्पणको अभिव्यक्ति र अत्यन्त अनुशासित ढङ्गबाट सेवा दलका छात्रछात्राबाट प्रस्तुत मनोभावनाले सबैको मन जित्न सक्नुपर्छ भने । काम, व्यवहार, बचन, सेवा, इमान, अनुशासन र देशभक्तिका दृष्टिले उदाहरणीय पात्रका रुपमा काम गर्न छात्रछात्रालाई निर्देशन दिँदै ओलीले भने– यो अभियान एउटा अभ्यास मात्र नभएर यसले दक्ष जनशक्ति निर्माणमा आत्मबल बढाउन योगदान पुर्‍याउनेछ । 
 
राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्रीले युवालाई अनुशासित, मर्यादित, संस्कारयुक्त, नेतृत्वदायी, एकताबद्ध, बफादार र देशभक्त तुल्याउने अभियानलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिँदै आएको जानकारी दिए । यस आवमा ३७ जिल्लाबाट दुई हजार छात्रछात्रालाई तालिम प्रदान गरिने लक्ष्य रहेको सो अवसरमा जानकारी दिइयो । सेवा दलले खास गरी माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत छात्रछात्रालाई लक्ष्य गरेर उक्त तालिम सञ्चालन गर्दै आएको छ । आजको समारोहमा ३७७ जना छात्रछात्राले दीक्षान्त हासिल गरेका छन । 
 
मुलुकभरबाट उक्त तालिमको अत्यधिक माग हुँदै आएको छ । आगामी दुई वर्षभित्रमा वार्षिकरुपमा मुलुकका ७५ जिल्लाका सात हजार ५०० छात्रछात्रालाई यो तालिम प्रदान गर्ने लक्ष्य रहेको जनाइएको छ । करिब १०० दिन अवधिको उक्त तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई समारोहमा प्रधानमन्त्री ओलीले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेका छन् । दीक्षान्त कवाज प्रस्तुत गर्ने क्रममा प्रशिक्षार्थीले नेपाली विविधता युक्त वेषभूषा झल्कने नृत्य र गीतसङ्गीत प्रस्तुत गरेका थिए । सो अवसरमा समूहगत रुपमा कवाजका प्रस्तुतका साथै रोमाञ्चकारी जोखिपूर्ण खेलसमेत प्रस्तुत गरियो । समारोहमा रक्षामन्त्री भीमबहादुर रावल, सचिव जयमुकुन्द खनाल सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ