काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा पुग्न सफल भएको छ । चेल्सीले सोमबार रातिको खेलमा वेष्टह्याम युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्यो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै गोल एडन हजार्डले गरे । ११ औं मिनेटमा पहिलो गोल गरेका हजार्डले इन्जुरी समयमा दोस्रो गोल गरेका थिए ।
यो जितपछि चेल्सी तेस्रो स्थानमा पुगेको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ ।
३३ खेलबाट ८२ अंकको लिभरपुल शीर्ष स्थानमा रहेको छ भने ३२ खेलबाट ८० अंकको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।
चेल्सीलाई काउन्टर दिँदै ६४ अंकसहित टोटनह्याम चौथो, ६३ अंकबाट आर्सनल पाँचौं तथा ६१ अंकबाट म्यान्चेस्टर युनाइटेड छैटौं स्थानमा छ ।