काठमाडौँ । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहलको प्रवलीकरण गरिने भएको छ । प्राविधिक अध्ययनपछि भवनको प्रवलीकरण गर्न सकिने प्रतिवेदन प्राप्त भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना उपनिर्देशक राजु न्यौपानेले जानकारी दिए । भवन प्रवलीकरणका लागि गत चैत १५ गते बोलपत्र आह्वान गरिएको छ ।
तोकिएको अवधिमा आएका आवेदनमध्येबाट सार्वजनिक खरीद ऐन एवं नियमावलीअनुसार सम्झौता गरी प्रवलीकरण प्रक्रिया अघि बढाइने जनाइएको छ । दुई वर्षमा प्रवलीकरण सम्पन्न हुने छ । भवन प्रवलीकरण गर्न रु ७५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको एकाइले जनाएको छ ।
छाना, फर्निचर, रङरोगनलगायत गरी रु एक अर्ब ११ करोड लाग्ने लगत स्टमेट गरिएको छ । भवनमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको थियो । भूकम्पले भवनमा क्षति पुगेपछि विभागको कार्यालय हाल पुल्चोकबाट सञ्चालन भइरहेको छ । राणाकालमा बबरशम्शेरले निर्माण गरेकाले बबरमहल नामकरण भएको जनाइएको छ ।