arrow

पश्चिम बंगालमा मोदीको भन्दा 'चौकीदार'को पक्षमा बढी माहोल !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत २८ बिहिबार
India_tour.jpg

कलकत्ता । भारतको पश्चिम बंगालमा पनि लोकसभा चुनावको अहिले चुनावी सरगर्मी बढीरहेको छ । मूलतः ४ पार्टीको बाहुल्यता रहेको यो प्रदेशको दुईवटा निर्वाचन क्षेत्रमा बिहीबार चुनाव भईरहेको छ । कुछविहार र अलिपुरदुअरमा पहिलो चरणमा चुनाव भईरहेको हो । कूल ४२ सिट रहेको सो क्षेत्रमा विभिन्न चरणमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । 

पश्चिम बंगालको स्थलगत अध्ययनको क्रममा बाहिरी सडकलाई नियालेर चुनावी माहोलको बारेमा विश्लेषण गर्नु केवल कल्पनामात्रै हुनेछ । किनभने पश्चिम बंगालको राजधानी कोलकत्ता मात्रै होईन राजधानी बाहिरका विकट गाउँहरुमा समेत सडकमा चुनावी प्रचार सामग्रीहरु एकाध बाहेक देखिने गरेका छैनन् । तर, यसको अर्थ त्यहाँ चुनावी माहोल बढेकै छैन भन्ने पनि होईन । मूल सडकको दृश्य भन्दा भित्र गएर राजनीतिक परिधिभित्र छिरेपछि त्यहाँ देखिन्छ असली चुनावको रौनक । जहाँ मानिसहरु एक अर्काे दलका मानिसहरुसँग बहस, झगडा र कहिलेकाहिँ त कुटाकुटसम्म पनि गर्ने गरेका छन् । 

राजनीतिक उतारचढाव र राजनीतिक दलका गतिविधिहरुलाई हेर्दा त्यहाँको चुनावी माहोलले आकाश छोईसकेको छ । तर, उत्तरदेखि दक्षिणसम्मको मोटामोटी अवलोकन गर्दा सिलिगुडी क्षेत्र लगायत एकाध शहरहरुबाहेक अन्यत्र झण्डा र पोस्टरहरु मुस्किलले देख्न सकिन्छ । दलहरु धरदैलो अभियान, गाउँका मुखियासँगको वार्ता र आमसभाबाट नै चुनावी गतिविधिहरुलाई तिब्रता दिँदै आईरहेका छन् । यही राजनीतिक परिधिभित्रको अंकगणितले भने चुनावलाई रोचक बनाएको छ । 

सडकबाट राजनीतिलाई नियाल्दा सडकका भित्ताहरु, बिजुलीका पोलहरु वा सार्वजनिक जग्गाका भित्ताहरुमा ठूलाठूला ब्यानर, पोस्टर र पर्चा, यी सबै प्रचार सामग्रीबाट मुक्त छ शहर। सडकमा कुनै नाराबाजी र जुलुस पनि छैन, न मुख्य सडकका आसपास विभिन्न पार्टीका सम्पर्क कार्यालयहरु नै छन्, यसो हेर्दा लाग्छ कि कोलकातामा चुनाव आएकै छैन, यहाँका जनताहरुलाई त्यसबारेमा थाहै छैन। तर, कोलकातामा चुनाव नै नलागेको चाहिँ होइन, बाह्य आवरणमा निर्वाचनको माहोल शून्यप्रायः देखिएपनि कलकत्ता भित्रभित्रै चुनावमा गजबले होमिएको छ।

चुनावी माहोललाई भित्रि रुपमा अध्ययन गर्नको लागि कोलकातामा देखिएको पछिल्ला केही घटनाक्रमले पनि सहयोग गर्दछ । तुणमूल काँग्रेसको पकड एरिया मानिएको कोलकाता र विधान नगर क्षेत्रका प्रहरी कमिश्नरहरुलाई जिम्मेवारी मुक्त गराएर सो क्षेत्रमा भाजपा नजिक मानिएका प्रहरी कमिश्नरलाई ल्याएपछि त्यहाँको राजनीति उचाईमा पुगेको छ । ती क्षेत्रहरुमा सधैंभरी प्रहरीको सहयोगबाट चुनाव प्रभावित हुने आरोप लाग्ने गरेको थियो । सोही क्षेत्रमा अहिले केन्द्रमा शासनमा रहेको भाजपा पक्षीय प्रहरीलाई ल्याउन निर्वाचन आयोगले निर्देशन दिएपछि अहिले तृणमूल काँग्रेस तनावमा छ भने भाजपामा केही थप उत्साह आएको छ । यसले गर्दा सुरक्षा निकायमा नै केही दलहरुले शंका गर्ने गरेका छन् । 

भाजपाका नेता कार्यकर्ताहरुलाई तृणमूल काँग्रेसले भित्र्याउने र तूणमूलका कार्यकर्ताहरुलाई भाजपाले भित्र्याउने चलन बढीरहेको छ । ग्रामीण भेगमा त्यहाँका मुखियाहरुलाई आफ्नो प्रभावमा पार्ने जमर्काे पनि रोचक नै हुन्छन् । यहीबीचमा भाजपा र तृणमूल काँग्रेसका कार्यकर्ताहरुबीच कुटाकुटको घटनापनि हुने गरेको छ । बाँकी दुई पार्टीहरु भारतीय राष्ट्रिय काँग्रेसको भूमिका सरसरती हेर्दा कमजोर देखिन्छ भने भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको पनि चुनावी माहोल सामान्य देखिन्छ । दलका कार्यकर्ताहरुको कुटाकुटले सामान्य नागरिकलाई भने कुनैपनि असर पर्ने गरेको छैन । सामान्य मानिसहरुले भोलिपल्टको पत्रिका पढेर या टेलिभिजनमा समाचार देखेर मात्रै यसबारे जानकारी पाउने गरेका छन् पत्रकारहरुले सो बारे जानकारी लिनको लागि प्रहरी कार्यालयमा नै जानु पर्ने हुन्छ । 

अर्काै तर्फ दलहरु शहर कुरुप बनाउने गरी चुनावी व्यानर र झण्डाहरु सडकमा राख्ने भन्दा पनि आमसभालाई नै बढी ध्यान दिने गरेका छन् । यसको लागि दलहरुबीच आमसभा गर्ने ठाउँको विषयमा नै तँछाडमछाड हुने गरेको छ । केही दिन अघि पश्चिम बंगालको उत्तरी क्षेत्रमा पर्ने उत्तरी दिनाजपुरको रायगञ्जमा काँग्रेसले आमसभा कार्यक्रम तय गरेको थियो। सो सभालाई काँग्रेस अध्यक्ष राहुल गान्धीले नै सम्बोधन गर्ने भनिएको थियो । सोही दिन दक्षिण दिनाजपुरको बालुरघाटमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम राखे । एउटै क्षेत्रमा एकै दिन २ जना अतिविशिष्टहरुको कार्यक्रम हुने भएपछि सुरक्षा व्यवस्था अत्यन्त कडा गर्न लागिएको छ। दक्षिण दिनाजपुरमा नै तृणमूल काँग्रेसले आमसभा गर्ने भनेर पहिले नै स्थान तय गरेको भएपनि प्रधानमन्त्री आउने भनेपछि मुख्यमन्त्रीलाई छाडेर सो क्षेत्रमा प्रधानमन्त्रीलाई सुरक्षा दिईयो । यसरी आमसभामा भने सो क्षेत्रमा हानाथाप हुने गरेको छ ।

मोदीको भन्दा चौकीदारको पक्षमा बढी माहोल
अहिलेसम्म चौथो स्थानमा सीमित भएको भारतीय जनता पार्टीले आफ्नो चुनावी माहोललाई धेरै हदसम्म बढाएको छ । त्यहाँको माहोल र केही स्थानीयहरुसँगको कुराकानीलाई आधार मान्दा अहिले केन्द्र सरकारको नेतृत्व गरिरहेको दल भारतीय जनता पार्टीले सम्मानजनक मत ल्याउने आकलन गर्न सकिन्छ । चुनाव जित्छ नै भन्नेमा यकीन हुन नसकेको भएपनि पश्चिम बंगालमा पहिलेको भन्दा निकै सम्मानजनाक मत ल्याउने आकलन गरिएको छ । हामीले सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रु, डुंगा चलाउने बोटे र खुल्ला आकाशमा पुल मुनी बस्ने घरबार विहीन मानिसहरुसँग गरिएको कुराकानीलाई आधार मान्दा अहिले मोदीको चौकिदार अभियानबाट उनीहरु प्रभावित भएको सुनाउँछन्। 

उनीहरु आफू मोदीको भन्दा पनि चौकीदार शब्दबाट प्रभावित भएको उनीहरुको भनाई थियो । हावडा बस स्टेसनबाट मल्लिक बजार जाने सार्वजनिक सवारीमा भेटिएका श्री भूषण मालाकार त्यहाँका एक आभुषण पसलमा काम गर्ने व्यक्ति हुन् । उनी हावडा बस स्टेसनको पछाडिपट्टी बसोबास गर्छन् । उनी अहिले बजारमा चौकीदारकै चर्चा रहेको उनैको माहोल कलकत्तामा बढी रहेको बताउँछन् । उनी आफ्नो दुख मोदी आएर समाधान नगरिदिने भएपनि राष्ट्रिय स्वाभिमानको मुद्दामा मोदीको कामप्रति आफू प्रभावित भएको बताउँछन् । 

उनीसँगको कुराकानीकै क्रममा बस भित्रै बहस सुरु भयो । त्यहाँ रहेका जान्ने बुझ्ने जस्ता देखिने सबै जना बसमा नै आफ्नो आफ्नो तर्क राख्न थाले । हामीले बसमा विभिन्न व्यक्तिहरुसँग गरिएको कुराकानीको क्रममा केहीले मोदीको चौकीदार अभियानले मानिसको मन जितेको भएपनि त्यो मानिसको दुुख निवारणको लागि सहायक सिद्ध नहुने भन्दै चौकिदार अभियानको आलोचना गरे । ती व्यक्तिले कुनैपनि पार्टीको समर्थन नगरेपनि मोदी र चौकीदार अभियानको विरोध गरेका छन् । 

तर, त्यसबाहेक धेरैले मोदीले चुनाव जित्छन् नै भनेर एकोहोरो तर्क नगरेपनि आफूहरु मोदीको भन्दा पनि चौकीदारको समर्थक रहेको बताए । देशको सार्वभौमसत्ता सबैभन्दा ठूलो रहेको भन्दै मोदीले ल्याएको चौकिदार अभियानको आफू समर्थक रहेको समेत उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ