arrow

लोकसभा निर्वाचन : मणिपुरमा सबैभन्दा धेरै प्रतिशत सहभागी

logo
एएनआई,
प्रकाशित २०७५ चैत २९ शुक्रबार
Lok-Sabha-Elections-19.png

नयाँ दिल्ली। भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ। मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ। स्थानीय समय अनुसार बेलुका पाँच बजेसम्मको विवरण अनुसार मणिपुरमा ७८.२० प्रतिशत मतदाता सहभागी भएका छन्।

त्यसपछि धेरै आसाममा सहभागी भएका छन्। आसाममा ६८ प्रतिशत मतदाताले मतदान गरेको अधिकारीहरूले जनाएका छन्। त्यसैगरी लक्ष्यदीपमा ६५.९ प्रतिशत, मेघालयमा ६२ प्रतिशत, तेलङगनामा ६०.५७ प्रतिशत, उत्तर प्रदेशमा ५९.७७ प्रतिशत, बिहारमा ५०.२६ प्रतिशत र महाराष्ट्रमा ५५.७८ प्रतिशतले मतदाता निर्वाचनमा सहभागी भएका छन्। 

अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा बिहीबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा गरी २० भन्दा बढी राज्यका ९१ निर्वाचन क्षेत्रमा मतदान भएको हो। भारतमा देशभरी सात चरणमा लोकसभाको निर्वाचन हुन लागेको छ। मतदान आगामी मे १९ मा सकिने कार्यतालिका रहेको छ। 

यस निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका जनमत संग्रहको रूपमा पनि हेरिएको छ। प्रधानमन्त्री मोदी अहिले पनि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट उम्मेदवार छन्। उनलाई यस टक नेहरू–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने अनुमान गरिएको छ। कङ्ग्रेसले पार्टी अध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारको रूपमा अगाडी सारेको छ।

उनीहरू बाहेक भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन्। भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ। करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ। निर्वाचन परिणाम मे २३ तारिखका दिन सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। 

अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन्। खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ। विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ।

चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ। मतदानको दिन भयावह र उल्लेख्य हिंसाका घटना नभएपनि यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीले स्थानीय विधायकसहित पाँच जनाको हत्या गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ