arrow

फलफूल बजारमा विस्फोट, १६ जनाको मृत्यु

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
merlin_1.jpg

क्वेटा, पाकिस्तान ।पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।

बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् ।

सहजै पहिचान गर्न सकिने मध्य एसियाली हजारा समूदायमाथि सुन्नी विद्रोही समूहले बेलाबखत आक्रमण गर्ने गरेका छन् । सुन्नी समुदायले हजारा समुदालाई धर्मविरोधीको आरोप लगाउने गर्दछन् ।बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा नजिकको हजारगन्जीमा सो विस्फोट भएको वरिष्ठ प्रहरी अधिकृत अब्दुल रजाक चिमाले बताए।

बम विस्फोट भएको सो क्षेत्र रगताम्य भएको र घाइतेहरुले सहयोगका लागि रुवाबासी गरेको एएफपीका एक समाचारदाताले बताएका छन् ।

यस आक्रमणको कुनै पनि समूहले शुक्रबार बिहानसम्म जिम्मा लिएको छैन ।  क्वेटा शहरको कूल जनसंख्या २३ लाखमध्ये पाँच लाख हजारा समूहका व्यक्तिहरु छन् ।

हजाराहरुलाई लडाकू समूहले प्रायः आक्रमण गर्ने गरेका र फलफूल बजार आउँदा पनि प्रहरीले सुरक्षा दिने गरेको प्रहरी प्रमुख बटले जानकारी दिए।

पाकिस्तानको उत्तरपश्चिम शहर पेसावरमा अवस्थित एक सैनिक विद्यालयमा सन् २०१४ तालिबान लडाकू समूहले गरेको भीषण आक्रमणपछि पाकिस्तानमा उल्लेखनीय रुपमा हिंसा घटेको अनुमान गरिँदै आएको थियो । यस आक्रमणमा बालबालिका सहित १५० जनाको मृत्यु भएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ