arrow

सुडानमा कर्फ्यु अवज्ञा, सैनिक नेतृत्व अस्वीकार्य

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
sudan3.jpg

खार्तुम । सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ ।  प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।

प्रदर्शनकारीहरुले सेनाका उच्च अधिकारी सम्मिलित सङ्क्रमणकालीन सैनिक परिषदलाई पनि अस्वीकार गरेका छन् । उनीहरुले पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन् ।

तीन दशकदेखि बसिर नेतृत्वको सैनिक सरकारको बन्धकमा मुलुक रहेको भन्दै प्रदर्शनकारीहरुले लोकतान्त्रिक सरकार गठन नहुँदासम्म प्रदर्शनमा सहभागी हुन आमजनतालाई आह्वान गरेका छन् ।गरिबीको चपेटामा परेको सुडानमा चरम भोकमरि र जनजीवन अस्तव्यस्त छ ।

शुक्रबारको प्रदर्शनका क्रममा राजधानी खार्तुमका अधिकांश पसल र कार्यालयहरु बन्द रहेका थिए । खार्तुमसँगै सुडानको अर्को ठूलो शहर ओम्डुरमानमा पनि प्रदर्शन भइरहेका छन् । संयुक्तराज्य अमेरिकाले सैनिक परिषदलाई धैर्य अपनाउन र नयाँ सरकार गठन हुँदा नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।

युरोपेली युनियनले पनि सैनिक नेतृत्व समक्ष शासनसत्ता जतिसक्दो चाँडो नागरिकलाई हस्तान्तरण गर्न आह्वान गरेको छ । सुडानका अन्तिम निर्वाचित प्रधानमन्त्री सदिक अल–माहदीले प्रदर्शनकारीलाई सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ । माहदीलाई सन् १९८९ मा बसिरले सैनिक बलबाट सत्ताच्यूत गरेका थिए ।

निर्वासनबाट खार्तुम फर्किएपछि माहदीले आफ्नो उम्मा पार्टीसँग अरु साना दल र समूहलाई मिलाएर गठबन्धन तयार गरेका थिए । सुडानका चिकित्सक, शिक्षक र इन्जिनियरहरुको ठूलो पेशागत सञ्जालले पनि शुक्रबारको प्रदर्शनमा सहभागी हुन आमजनता र पेशाकर्मी समक्ष आग्रह गरेका छन् ।

सैनिक परिषदले सैनिक मुख्यालय बाहिर रहेका प्रदर्शनकारीलाई रातिको अवज्ञा (कफ्र्यु) आदेश पालना गर्न आग्रह गरेको थियो, तर प्रदर्शनकारीले सेनाको अनुरोधलाई अस्वीकार गरेर रातभर प्रदर्शनमा सहभागी भएका छन् ।  एक जना प्रदर्शनकारीले आफूहरु ६ दिनदेखि यहाँ धर्नामा बसेको र नागरिक सरकार गठन नहुँदासम्म धर्नास्थल नछाड्ने बताए ।

प्रदर्शनकारीहरु र सैनिकहरुबीच प्रदर्शनस्थल वरपर सौहाद्र वातावरण देखिएको थियो । प्रदर्शनकारीहरुले आफ्नो लडाइँ सैनिक नेतृत्वसँग रहेको, तल्लो तहका सेनासँग कुनै बैमनश्य नरहेको बताइरहेका थिए ।
सैनिक परिषदले गरेको पछिल्लो पत्रकार सम्मेलनमा सेनाले सुडानमा थप अस्थिरता र अराजकता हुन नदिन सेना उच्च सतर्क रहेको जनाएको छ । पत्रकार सम्मेलनमा दुई वर्षभित्र सुडानमा आमनिर्वाचन गर्ने र नागरिक सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सेनाले मुलुकका सबै राजनीतिक पक्षसँग वार्ता गर्ने जनाएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ