arrow

नयाँ वर्ष : पर्यटकीय गन्तव्य भरिभराउ

logo
सिवी अधिकारी,
प्रकाशित २०७६ वैशाख १ आइतबार
tourists-in-pokhara.jpeg

काठमाडौँ । नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । पर्यटनका हिसावले चिनिएका पोखरा, चितवनका अलावा अन्य लामो दूरीका साहसिक गन्तव्यमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । यतिखेर पदयात्रा तथा धार्मिक पर्यटनका लागि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक देशका विभिन्न गन्तव्यमा पुगेका छन् ।

वसन्त ऋतुको यो सिजन खासगरी पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिन्छ । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन यतिबेला उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आएका छन् । नयाँ वर्षमा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन पनि बढेको छ ।

राजधानी नजिकका नगरकोट धुलिखेल, चन्द्रागिरीलगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बाक्लिएका छन् । राजधानी बाहिरका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, पवित्र धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथिभरा, धनकुटाको भेडेटार दोलखाको कालीञ्चोक, मनाङको मुक्तिनाथलगायत क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड बढेको छ । मुगुको रारा, सुदूरपश्चिमको खप्तड आदि क्षेत्रमा पर्यटक उल्लेख्य सङ्ख्यामा गएका छन् ।

ती गन्तव्यका होटल तथा रेस्टुराँ पाहुनाले भरिएका छन् । खासगरी राजधानी नजिकका पोखरा र चितवनका होटल पर्यटकले खचाखच भरिएका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा फेवा महोत्सव चलिरहेको छ । पोखरामा अहिले आन्तरिक पर्यटकको भीड लागेको छ । पोखराका होटल व्यवसायी भरत पराजुलीले पर्यटनको मुख्य सिजन, नयाँ वर्षको सन्दर्भ तथा बिदा मनाउन आउने आन्तरिक पर्यटकको चाप बढेको बताए ।

होटल पिस प्लाजाका सञ्चालक पराजुलीले यो सिजनमा ८० देखि ९० को हाराहारीमा पोखराका होटल भरिभराउ छन् । क्षेत्रीय होटल सङ्घ पोखराका अनुसार स्वदेशी तथा विदेशी गरी वार्षिक १० लाख पर्यटक पोखरा पुग्ने गरेका छन् । गण्डकी प्रदेशले ‘आन्तरिक भ्रमण वर्ष–२०१९’ को घोषणा गरी वार्षिक १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

 यो लक्ष्य भेटन गाह्रो नहुने व्यवसायी बताउँछन् । यता अर्को प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहासँगै पटिहानी, जगतपुर र मेघौलिका होटल पनि आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् ।

 सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताए । चरिकोट (दोलखा) को कुरीस्थित होटल सुनापतिका सञ्चालक हरि ओलीका अनुसार कालीञ्चोक भ्रमण जाने पर्यटकको घुइँचो लागेको छ । अहिले दैनिक दुई हजार भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । यो क्षेत्रमा ४५ वटा होटल छन् ।

होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार अहिले ७० प्रतिशतको हाराहारीमा होटल बुकिङ भएका छन् । हानका महासचिव विनायक शाहका अनुसार अहिले पदयात्रा र हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् । खासगरी पाँचतारे र पर्यटकस्तरीय होटलमा पर्यटकको चाप बढ्दो छ । हानको विवरणमा मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय थपिएका तीनसहित अहिले १३ पाँचतारे होटल सञ्चालनमा छन् ।

पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यो सिजनमा शुक्रबारसम्म सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहणका लागि ७५ आरोहण समूहका ६६७ आरोही गन्तव्यतिर लागेका छन् ।

पर्यटकीय मौसम शुरु भएसँगै धेरै आरोहीको चहलपहल बढेको ट्रेकिङ् एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले बताए । पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी सङ्ख्यामा पर्यटक आएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव कुलबहादुर गुरुङले अनुकूल मौसम भएकाले वसन्त ऋतुमा साहसिक पर्यटकीय गतिविधि बढ्ने बताउछन्। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत शर्मा गुरागाईंले उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको बताए ।

 ठमेल पर्यटन विकास परिषद्का महासचिव भवि शर्माले मुख्य पर्यटकीय सिजन शुरु भएसँगै ठमेल, वसन्तपुर, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको चहलपहल पनि बाक्लिएको बताए । नेपालका चर्चित पदमार्ग लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, खुम्बुलगायत पर्छन् ।

अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । यो याममा अन्नपूर्ण, खुम्बु, लाङ्टाङ र मनास्लु क्षेत्रमा धेरै सङ्ख्यामा पर्यटक जान्छन् । नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुअरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोका लागि बजेट तथा कार्यक्रम तय गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ