यू–१९ विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपाल मैदानमा, ऐरीलाई सफलता

प्रकाशित मिति : २०७६ बैशाख २ सोमबार

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले अहिले घरेलु टोली मलेसियासंग खेलिरहेको छ । 

क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ । ९ ओभर खेल्दा मलेसियाले २ विकेट गुमाएर ३८ रन बनाएको छ । दुवै विकेट कमल सिंह ऐरीले लिएका छन् । 

सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुलनात्मक कमजोर टोली मलेसियासंग खेलिरहेको हो ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा हुनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ ।

छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ । नेपाललाई छनोटको आशा जिवित राख्न यो खेल जित्नैपर्नेछ । शीर्ष स्थानको एक टिमले मात्र विश्वकपमा ठाउँ बनाउने छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविसको आधारमा १ रनले पराजित भएको थियो ।

नयाँ