काठमाडौं। ‘कस्ले भन्यो ? कांग्रेसले धर्मनिरपेक्ष र गणतन्त्रबारे ‘माइन्युट’ गरेको छ भनेर’, यस विषयमा संस्थागत रुपमा कँही ‘माइन्युट’ भा छैन, घोषणा मात्रै भएको हो, ‘त्यो पनि राति १० बजे’, सकैले थाहा पाएनन्, घोषणा भएको त मैले भोलिपल्ट थाहा पाएको हुँ। कांग्रेस महाधिवेशन सकिएपछि केन्द्रीय सदस्य निर्वाचित भएको प्रमाणपत्र लिन पार्टी कार्यालयसम्म पुग्न नसकेका नेता खुमबहादुर खड्काले निवासबाटै हाम्राकुरा डटकमलाई भने, ‘हिन्दु राष्ट्रबारे पार्टीभित्र छलफल हुन्छ, तर तुरुन्तै होइन, आन्तरिक व्यवस्थापनको काम सकिएपछि ।’ खड्काले भने, 'बहस चै गर्ने हो, अहिले होइन केही समयपछी।'
तत्काल पार्टीभित्र त्यो बहस प्रवेश गराउँदा आपसमा विवाद हुने हुनाले हामी केही समय यसबारे छलफल गर्दैनौं, खड्काले थपे, ‘संस्थागत रुपमा धर्मनिरपेक्ष र गणतन्त्रबारे ‘माइन्युट’ भा छ भनेर कस्ले भन्यो ? घोषणा मात्रै भएको हो । संसदमा गिरिजाबाबुले राति १०ः०० बजे घोषणा गर्नु भएको हो । यसबारे पुनःविचार हुन्छ । हामीले त भोली पल्ट मात्रै थाहा पाएका थियौं ।’ खड्काले भ्रष्टाचार सजायको कैद भुक्तान गरेपछी हिन्दु राष्ट्र घोषणाको महाअभियान नै चलाए । संविधान जारी हुनु अघिसम्म हिन्दु राष्ट्र कायम गर्नका लागि नियमित संविधानसभा भवन घेरेका खड्का कांग्रेसको १३औं महाधिवेशनबाट भारी मतले केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
कांग्रेस केन्द्री समितिका लागि हिन्दु राष्ट्रपक्षधर उनीमात्रै विजयी भएनन् । उनलाई साथ दिने शंकर भण्डारी, मोहनबहादुर बस्नेत लगायत केही अन्य नेताहरु समेत निर्वाचित भएका छन् । पार्टीभित्र तत्काल बहस नभएपनि विस्तारै हिन्दु राष्ट्रको मुद्दाले स्थान पाउने खड्कालाई साथ दिने अन्य कांग्रेस नेताहरु समेत बताउँछन् । महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्नु अघि नवनिर्वाचित कांग्रेस महामन्त्री एवं वीपी पुत्र सशांक कोइरालाले समेत धर्मनिरपेक्ष र गणतन्त्रबारे पुनःविचार गर्नु पर्ने अभिव्यक्ति दिएपछि कांग्रेसभित्र हिन्दु राष्ट्रको चर्चा झन् चुलियो । हिन्दु राष्ट्रपक्षधर कांग्रेस केन्द्रीय सदस्यहरुको भनाईको आधारमा सशांक हिन्दु राष्ट्रकै मतले विजयी भएका अड्कल धेरैले गरेका छन् ।
पार्टीभित्र ठूलो मत हिन्दु राष्ट्रकै पक्षमा छ : केन्द्रीय सदस्य भण्डारी
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली कांग्रेसभित्र बढी जनमत हिन्दुवादीहरुकै आएको बताए । उनले भने, ‘१३औं महाधिवेशनले समेत यसलाई पुष्टी गरेको छ, पार्टी भित्र ठूलो मत हिन्दु राष्ट्रकै पक्षमा छ ।’ पार्टीभित्र अझै हिन्दुवादीहरुको संख्या बढ्नेवाला छ । उनले भने, ‘यो कुनै धर्म र समुदायविरुद्ध होइन, न पूर्वाग्रह, जन चाहाना अनुरुप हामी धार्मीक स्खलनलाई बचाउन लागि परेका हौं ।’ हामी धार्मीक स्खलनको अन्त्य चाहान्छौं ।
भण्डारीले भने, 'खुमबहादुर दाईको संयोजकत्वमा महाअभियानै थालेका हौं, यो विषय कहीँ लुके छिपेको छैन।' पार्टीको नयाँ कार्यसमिति निर्वाचनपछी चर्चा हुनु स्वभाविकै भएपनि अहिले तत्काल पार्टीमा हिन्दु राष्ट्रकै विषयमा छलफल नचल्ने भण्डारीको भनाई छ ।
गणतन्त्र पुनःविचार गर्ने कुरा नी ? जवाफमा भण्डारीले भने, ‘हो धर्मबारे बहस छ, तर गणतन्त्र पुनःविचार गर्नेबारे धारणा बनिसकेको छैन, विस्तारै त्यसबारे पनि बहस हुन सक्छ ।’ भण्डारी तनहुँ –१ बाट निर्वाचित सांसद हुन् । यस्तै, हिन्दु राष्ट्र घोषणाको अभियानमा हिँडेकी कांग्रेस नेतृ पुष्पा भूषालले समेत पार्टी भित्र बहस भइहाल्ने बताइन।
‘हिन्दु राष्ट्र’एजेण्डाकै रुपमा छलफलमा आएको छैन : बस्नेत
प्रदेश नम्बर ३ बाट केन्द्रीय सदस्य निर्वाचित भएका मोहनबहादुर बस्नेतले व्यक्तिगत रुपमा केही नेताहरुबीचमा छलफल भएपनि ‘हिन्दु राष्ट्र’ एजेण्डाकै रुपमा छलफलमा नआएको बताए । उनले भने, ‘केही नेताले यसलाई निर्णयको रुपमा लाने कुरा गरेका चैं हुन् ।’ पार्टीभित्र यो छलफलको विषय बनेको छैन ।
उनले भनेका छन्, ‘मैले बुझेको के हो भने, सवैखालका समस्याः जस्तो, संविधान संशोधन, संविधान कार्यान्वयन यी प्राथमिकताका एजेण्डा हुन्, तत्काल यी सुल्झिाउने तिर पार्टी लाग्छ, पार्टी सभापतिले समेत भनि सक्नु भएको छ, ६ महिनाभित्र सवै भ्रातृ संगठनको निर्वाचन गर्ने भनेर ।’ यसबीचमा पनि कुनै नेताहरुले हिन्दु राष्ट्रबारे कुरा उठाउलान् । बस्नेत सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद हुन् ।
कांग्रेसले संस्थागत निर्णय पुनःविचार गर्न सक्दैन : अमरेश कुमार
कांगेस नेता अमरेशकुमार सिंहले धर्म निरपेक्षता, गणतन्त्र कांग्रेसले ‘माइन्युट’ गरिसकेका विषय भएकाले यसलाई पुनः विचार गर्ने कुरा असम्भव रहेको बताए । उनले हाम्राकुरासंग भने, ‘अब यसबारे महासमितिमै दुई तिहाईको निर्णय लिइएपनि निकै अफ्ठेरो छ ।’ जुन विषय एजेण्डामै आउन सक्दैन । व्यक्तिगत टिका टिप्पणीका विषय हुन सक्दछन्, नेता सिंहले थपे, ‘कुनै हालतमा पार्टी संस्थागत निर्णयबाट फर्किन सक्दैन ।’ अमरेश सर्लाही ६ बाट निर्वाचित कांग्रेस सांसद हुन् ।