arrow

ट्वीटरमा देउवा किन आए, गर्दैछन के ?

नेपाली क्रिकेटर सोमपाल कामीलाई फलो गरेकाछन् भने कप्तान लगायत अरु खेलाडी यो सुचीमा परेका छैनन्

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
Sher_Bdr_twitter_hamrakura.jpg.jpeg
 
काठमाडौं। नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवाले महाधिवेशनको केही अगाडी सूचारु गरेको ट्विटर खातालाई अहिले पनि निरन्तरता दिएका छन्। नेपालको सबैभन्दा ठुलो राजनीतिक दलका बरिष्ठ नेता देउवाले सभापतिको उमेद्वार भएपछि सामाजिक संजाल ट्विटरलाई प्रचारको नभई नहुने सहयोगीका रुपमा देखेपछि उनका सल्लाहकारको सल्लाहमा उक्त खाता खोलिएको उनका नजिकका सहयोगीले बताए।
 
ट्विटरमा के पोष्ट गर्ने भन्ने कुरा उनको सचिवालयले निर्धारित गर्ने गर्छ तर के गर्ने वा नगर्ने भन्ने कुराको कुनै निश्चित नियमावली नरहेको पनि सचिवालयका सहयोगीले बताए। उनको सामाजिक संजाल सचिवालयले हेर्ने र त्यसमा देउवा स्वयंको निर्देशन पनि रहने गरेको छ। सभापति देउवाले फलो गर्ने लिष्टमा धेरै जसो नेपाली पत्रकार रहेका छन् भने अमेरिका र भारतका ठुला नेतालाई उनले फलो गरेका छन्। भारतका प्रम नरेन्द्र मोदी र भारतीय प्रमको कार्यलयलाई उनले फलो गरेका छन्। त्यसैगरि बिदेश मन्त्री सुस्मा स्वराज र गृह मन्त्री राजनाथ सिंह पनि उनले फलो गरिएकाहरु हुन। 
 
अरु भारतीय नेतामा शशी थरुर र अरुण जेट्ली रहेका छन्। त्यसैगरि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई फलो गरेका देउवाले पुर्व राष्ट्रपति विल क्लिण्टन एवं उनकी पत्नि र अबको निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिकी संभावित उम्मेद्वार हिलारी क्लिण्टनलाई पनि देउवाले पछ्याएका छन्। बेलायतका प्रम डेविड क्यामरुन पनि उनको फलोई, लिष्टमा रहेका छन्। 
 
नेपाली नेताहरुमा देउवाले पुर्व प्रम बाबुराम भट्टराईलाई फलो गर्छन् भने वर्तमान प्रम केपी शर्मा ओलीलाई पनि फलो गरेका छन्। नेकपा एमाले नेता झलनाथ खनाललाई पनि फलो गरेका देउवाले आफ्नै पार्टीका समकक्षी रामचन्द्र पौडेललाई भने सभापतिमा पदभार ग्रहण गरेको भोलिपल्ट मात्रै फलो गरेका छन्। महामन्त्रीका उमेद्वार भएर देउवाले नै केन्द्रीय सदस्यमा मनोनित गरेका गगन थापालाई पनि उनले बिहिवारबाटै फलो गरेका छन्। थापा नेपालमा धेरै फलो हुने राजनीतिककर्मी मध्येका हुन्। 
 
त्यसैगरि उनले फलो नगरेको लिष्टमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि रहेका छन्। खेलकुदमा खासै रुझान नदेखिएका काँग्रेस सभापतिले नेपाली क्रिकेटर सोमपाल कामीलाई फलो गरेकाछन् भने कप्तान लगायत अरु खेलाडी यो सुचीमा परेका छैनन्। 
 
नेपालीहरुमा देउवाको फलोमा पत्रकारहरु परेका छन्। विजयकुमार पाण्डे, किशोर नेपाल, कसमस विश्वकर्मा, सुधिर शर्मा, किरण नेपाल, अखिलेश उपाध्याय, नारायण वाग्ले, प्रशान्त अर्याल, कुन्दा दिक्षित, युवराज घिमिरे आदिलाई देउवाले पछ्याएका छन्। देशको सबै भन्दा ठुलो दलका सभापतिले ढिलै भए पनि सामाजिक संजालमा पर्दापण गरेका छन्। 
 
महाधिवेशनको मुखमा उनले सामाजिक सञ्जालमा आएपनि यो कदम महाधिवेशन लक्षित मात्र नभएको उनका सहयोगीले भनेका छन्। काँग्रेस सभापति देउवाले सामाजिक संजालको सदुपयोग गर्दै सर्वसाधारणसँग अन्तरक्रिया गर्नसके राम्रो हुने जानकारहरु बताउँछन्।



नयाँ