arrow

सुडानका अपदस्त राष्ट्रपति बशिर काराबासमा

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
omar2.jpg

खर्तुम । सुडानका अपदस्त राष्ट्रपति ओमर अल बशिरलाई कारागारमा राखिएको छ । राजधानी खर्तुममा रहेको कारागारमा उनलाई राखिएको उनको पारिवारिक श्रोतले बुधबार एएफपीलाई जानकारी दिएको छ । “गएराति बशिरलाई राजधानी खर्तुममा रहेको कोबर कारागारमा लगिएको छ,” सुरक्षाका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले बुधबार भन्यो ।

बशिरलाई गत बिहीबार सेनाले अपदस्त गरेको थियो । झण्डै चार महिनादेखि जारी आन्दोलनको आडमा सेनाले ३०बर्ष देखि शासन गरिरहेका बशिरलाई अपदस्त गरेको हो ।  उनलाई अपदस्त गरेर सैन्य नेतृत्वले सैन्य परिषद् गठन गरी त्यसै मार्फत् शासन चलाउने घोषणा गरेको छ ।

राजधानीको उत्तरी क्षेत्रमा रहेको कारागार बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । कारागार बाहिर खटाइएका सुरक्षाकर्मीहरुलाई ठूला ठूला हातहतियार, सवारी साधनलगायत उपलब्ध गराइएको छ । बशिरलाई राखिएको कारागार बेलायती शासकहरुले बनाइदिएका हुन् । सुडानलाई उपनिवेश बनाएका बेला बनाइएको कारागार क्षेत्रमै बशिर हुर्किएका थिए ।  

सो कारगारलाई पहिला पहिला कोबर नामाकरण गरिएपछि बशिरले पछि ओमर अल मुख्तर नामकरण गरेका थिए । कारागार निकै ठूलो पर्खालले घेरिएको छ । बशिरलाई राखिएको कारगारामा अरु पनि थुप्रै राजनीतिक व्यक्तिहरुलाई राखिएको थियो । गत चार महिना भएका आन्दोलनका क्रममा बशिरले नै धेरै नेताहरुलाई यस कारागारमा राख्न लगाएका थिए । अहिले आफैँ सो कारागारमा बस्नु परेको छ ।

पाउरोटीको मुल्यबृद्धि फिर्ता गर्नु पर्ने मागबाट सुरु भएको आन्दोलन चर्किदै र हिंसात्मक हुदै गएपछि अहिले ३० बर्षदेखिको शासकलाई कारागार पुर्‍याउने सम्म आइपुगेको छ । आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका बेला सेनाले उनलाई पदमुक्त गरेपछि पनि आन्दोलन रोकिएको छैन ।

आन्दोलनकारीहरुले बशिरलाई पदमुक्त गर्नु स्वागतयोग्य भएपनि सेनाले नै शासन लिनु भने ठिक नभएको भन्दै नागरिक सरकार बनाउन माग गरेका छन् । सुडानका विपक्षी पार्टीहरु, नागरिक अगुवा र कतिपय अन्तर्राष्ट्रिय निकायहरुले नागरिक सरकार गठन गर्नका लागि दवाव दिइरहेका छन् । केही दिन अगाडि गठन भएको अन्तरिम सैन्य परिषद्लाई नागरिक सरकारमा परिणत गर्न उनीहरुले माग गर्दै आएका छन् । तर शासन हातमा लिएका सैन्य अधिकारीहरुले भने अहिले सम्म सत्ता सहजै हस्तान्तरण गर्ने संकेत नगरेकाले आन्दोलन चर्किदै गएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ