arrow

भारतमा ९५ सिटका लागि मतदान जारी, देवेगौडादेखि हेमा मालिनीसम्म मैदानमा

सुरक्षा व्यवस्था निकै कडा, तामिलनाडु राज्यको भेल्लोरको मतदान रद्द

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
india-security.jpg

काठमाडौं । भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ ।     
     
आयोगका अनुसार, असाम (५ स्थान), बिहार (५ स्थान), छत्तीसगढ (३), जम्मु र काश्मिर (२), कर्नाटक (१४), महाराष्ट्र (१०), मणिपुर (१), उडिसा (५), तामिलनाडु (३८), उत्तर प्रदेश ८, पश्चिम बंगाल ३ र पोन्डीचरी १ गरी ९५ स्थानका लागि चुनाव हुन लागेको हो ।     
     
निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपति रामनाथ कोबिन्दले धाँधलीको आशंकामा तामिलनाडु राज्यको भेल्लोरको मतदान रद्द गरेका थिए । मतदानमा ठूलो मात्रामा रकम बरामद भएपछि आयोगले उक्त निर्वाचन क्षेत्रको मतदान रद्द गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।     
     
बिहीबारको चुनावमा कर्नाटकबाट पूर्व प्रधानमन्त्री एवं जनता दलका अध्यक्ष एचडी देवेगौडा चुनावी मैदानमा छन् । त्यस्तै कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिल गौडा पनि पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् । 
     
जम्मु काश्मिरको श्रीनगर क्षेत्रमा नेसनल कन्फ्रेन्सका नेता फारुक अब्दुल्लाह पनि चुनावी मैदानमा छन् । चुनावमा सम्भावित हिंसालाई ध्यानमा राखेर सरकारले श्रीनगर र घाँटीका अरु क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।     
     
उत्तर प्रदेशको मथुरामा नायिका हेमा मालिनी भारतीय जनता पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दै छिन् । उनी राष्ट्रिय लोकदलका नरेन्द्र सिंह र कङ्ग्रेसका तर्फबाट स्थानीय उद्योगी महेश पाठक हेमा विरुद्ध चुनाव लड्दै छन् ।    
     
तामिलनाडुमै पूर्व अर्थमन्त्री पी चिदम्बरमका छोरा कार्ती चिदम्बरम चुनावी प्रतिस्पर्धामा छन् ।      
     
निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९।४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो ।     
     
सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ