arrow

बालाजुको बाइसधारामा ल्हुतिपुन्हि

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
22-dhara.JPG

काठमाडौं । काठमाडौंस्थित बालाजुको बाइसधारामा शुक्रबार मेला लागिरहेको छ । बौद्ध र हिन्दू धर्मावलम्बीहरू दुवैको आस्थाको केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्रमा चैत शुक्ल पूर्णिमाका दिन स्नान गरी बिशेष  मेला भर्ने परम्परा छ । यस दिन नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् । 

नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस त्यहाँबाट बग्ने पानीमा मिसिएर बाइसधारामा आउने भएकाले नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन् ।

यसै दिन ’मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित यो देवीको पूजा अर्चना गरेमा फलिफाप हुने विश्वास रहिआएको छ ।

 यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटेर सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास छ । विशेषगरी छालासम्बन्धी रोग निको पार्न यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ ।

जयप्रकाश मल्लले स्थापना गरेको ढुङ्गेधारा
सर्वप्रथम बालाजुमा नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ । 

यसैगरी  यस क्षेत्रका शीतलामाई र गुहेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ पनि छ । स्वयम्भू पुराणमा उल्लेख भए अनुसार कुनै समयमा महामञ्जुश्री, बोधिसत्व, केसिनी र उपकेसिनी देवीहरूसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकामा पानी कसरी विस्थापित गर्ने भनेर सोचेका थिए ।

 पछि यहाँको पानी सुकेपछि विपस्वी बुद्धले कमलका फूल रोपेर “ॐ नमोरत्नत्रयाय“ भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको भनिन्छ । यसैको सम्झनामा ल्हुतिपूर्णिमा मनाउने गरिएको हो भन्ने किंवदन्ती छ ।
 
 विपस्वी बुद्धले ध्यान बसेको कारण यस पर्वतलाई “जातमात्रोच्च“ नामकरण भएको भन्ने भनाइ छ । पछि अपभ्रंश हुँदै जाँदा यही पर्वतलाई जामाच्व भन्न थालिएको हो ।

 महायानी दार्श्निक आचार्य नागार्जुनले बुद्ध भगवानको संस्मरण गरी यही जामाचो पर्वतमा रहेको गुफामा ध्यान,साधना गरी सिद्धि प्राप्त गरेका थिए । 

त्यसैले यस स्थानलाई नागार्जुन पर्वत भन्ने गरिएको पाइन्छ र ल्हुति पूर्णिमाका दिन बाइसधारामा स्नान गरी यही जामाचोमा मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा रहिआएको छ ।

बालाजु बाइसधाराको जात्रामा पूर्णेको अघिल्लो दिनमै यहाँका बौद्ध स्तुपमा भक्तजनहरू आउँछन् र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने गर्दछन् । चैतपूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपको ज्योतिको दर्शन गर्दछन् ।
 
साथै नागार्जुन स्तुपको पनि दर्शन गरी दिवंगत आत्माका बत्ती पुनः बाली र्फकने चलन छ ।

बिभिन्न देवीको खट जात्रा मनाइँदै 
ल्हुतिपूणिर्माका दिन बाइसधारामा मात्र होइन अन्यत्र धेरै स्थानमा पनि जात्रा मेला पर्दछन्।  विभिन्न जात्रा र पर्व पर्ने भएकाले यस ल्हुति पूर्णिमाको महत्व छ ।

यस दिन नुवाकोटको कडेल्चोक भगवतीलाई पनि बालाजुमा ल्याई यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलिद्वारा देवीको पूजा गर्ने परम्परा रहिआएको छ । त्यसपछि केही दिनसम्म उक्त भगवतीलाई यहीँ राख्ने परम्परा छ ।

त्यस्तै मनमैजु देवीको जात्रा पनि  बालाजु बाइसधाराको प्रसङ्गसंग जोडिएको छ । ल्हुती पूणिर्माको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ । 

सुनागुठीमा बालकुमारीको जात्रा मनाइँदैछ । गएको बुधबारदेखि सुरु यो जात्रा ल्हुतिपुन्हीका दिन बालकुमारीलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुर जात्रा गरी आज समापन हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ