arrow

बँदेल मार्न थापेको धरापमा भूपू सैनिकको मृत्यु, शव जंगलमा गाड्ने फन्दामा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख ११ बुधबार
badel.jpg

बुटवल । रुपन्देहीको तिलोत्तमा ११ का पाँच जना युवाले आफ्नो बस्तीमा बँदेलले बाली खाएर सखाप पार्न थालेपछि एउटा जुक्ति निकाले, बँदेल हिँडने बाटोमा विद्युतीय धराप थापेर मार्ने ।

उक्त योजना अनुसार वैशाख १ गते राती तिलोत्तमा र देवदह नगरपालिकाको सीमाना छुटयाउने रोहणी खोलामा राति ११ बजे विद्युतीय धराप थापेर नजिकैको एउटा रुखमुनि सुते । भोलिपल्ट बिहान चार बजेको समयमा तिलोत्तमा ११ भूपू सैनिक टोलका मिनबहादुर गौतम सोही बाटो देवदहबाट घर आउँदै गर्दा सोही विद्युतीय धरापमा परे ।

धरापमा परेर गौतमको मृत्यु भयो । विद्युतीय धरापमा उनीसँगै बँदेल पनि पर्‍यो । तिलोत्तमा-११ का चन्द्रबहादुर थापा, नरबहादुर पुन, उपेन्द्रबहादुर शाह, अमर पुन र माइला भन्नेले गौतमको शवललाई उठाएर देवदह-९ को मिलन सामुदायिक वनको झाडीमा खाडल खनेर गाडे ।

परिवारले गएको ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरमा निवेदन दिए । प्रहरीले अनुसन्धानको क्रममा गाउँका तीन जना युवालाई सोधखोज गर्दा घटनाका विवरण बताएपछि घटना बाहिर आएको हो । प्रहरीले मंगलवार राति ११ बजे शव गाडेको स्थलमा ती युवाहरूको सहयोगमा नै पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले पाँच जना युवा प्रहरीको नियन्त्रणमा रहेको बताए । उनीहरूले ३ फिट गहिरो खाडल खनेर गौतमको शवलाई गाडेका फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले घटना सुनियोजित नभए पनि युवाहरूले घटना लुकाउन खोजकोले उनीहरूलाई फौजदारी संहिता अनुसार कारवाही हुने बताए ।

गौतम सोही बनको हेरालु समेत रहेका थिए । गौतमका एक छोरी र श्रीमती छन् । रुपन्देहीको देवदहमा अपराधिक घटना बढ्दै गएका छन् । केही समय अगाडि देवहका अनिश पुरीको पनि गाउँकै युवाहरूको सामूहिक प्रहारबाट मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ