arrow

श्रीलङ्कामा सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन राष्ट्रपतिको आदेश

logo
सिन्ह्वा,
प्रकाशित २०७६ वैशाख ११ बुधबार
srilanka-president-2019.jpg

कोलम्बो। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिएका छन्। देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका छन्।

राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिनअगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। उनले मङ्गलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दा पनि सुरक्षा निकायका प्रमुखहरुलाई परिवर्तन गर्ने सङ्केत गरेका थिए। 

विनाशकारी घटनालाई नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै पनि सुरक्षा प्रमुखहरुको लापर्वाहीका कारण घटना भएको ठहर गर्दै उनीहरुलाई परिवर्तन गर्न लागिएको हो।

श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा गत आइतबार भएका शृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या बुधबार मध्याह्नसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ। विस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन्। उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन्।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएका थिए। यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए।

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो। विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ। तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ।

यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ