- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। बिगत २ बर्षदेखि स्थानीयभन्दा आयातित औलोका बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आर्थिक बर्ष २०७३-७४ मा स्थानीय औलोका बिरामी ४ सय ९२ थिए भने आयातित ६ सय ३६ जना थिए। यसैगरी २०७४-७५ को तथ्यांक अनुसार स्थानीय ५ सय ५७ बिरामी रहेकोमा आयातित ६ सय ३० जना भेटिएका छन्।
यी दुवैलाई हेर्ने हो भने स्थानीयभन्दा आयातित बिरामीको संख्या बढेको देखिन्छ। नेपालमा भेटिएका औलो रोगीमध्ये करीब ६० प्रतिशत आयातित भएको महाशाखाका निर्देशक डा बिबेक कुमार लालले जानकारी दिए। बिशेषगरी भारतको गुजरात, उत्तर प्रदेश र बम्बईबाट आएकामा औलो बढी पाइएको डा लालको भनाइ छ।
हिमाली जिल्ला मुगुमा सबैभन्दा बढी औलोका बिरामी
आर्थिक बर्ष २०७४-७५ मा औलोका बिरामी सबैभन्दा बढी सुदुर पश्चिम प्रदेशमा फेला परेका छन् । यहाँ स्थानीय र आयातित दुबैको संख्या बढी पाइएको छ। आर्थिक बर्ष २०७४-७५ मा सुदुर पश्चिम प्रदेशको कैलालीमा सबैभन्दा बढी ३ सय औलोका बिरामी भेटिएका छन्। तर यो आर्थिक बर्ष २०७५÷७६ को ८ महिनामा भने हिमाली जिल्ला मुगुमा सबैभन्दा बढी १६८ जनामा औलो देखा परेको महाशाखाको तथ्यांकमा उल्लेख छ। तथ्यांक अनुसार मुगुमा सबैभन्दा बढी १ सय ६८, त्यसपछि कैलालीमा १सय ४३ र बाजुरामा ८२ जनामा औलो देखा परेका छन्।
जलबायु परिवर्तन लगायतका कारणले औलो तराईमा मात्र नभई बिस्तारै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। लामखुट्टेको बसाईंसराईले यो अबस्था देखिएको हो। हिमाली जिल्ला मुगु र उच्च पहाडी जिल्ला बाजुरामा पनि औलो देखा परेपछि सरकारले गएको बर्षदेखि यहाँ अध्ययन समेत थालेको थियो। नेपालमा सबैभन्दा बढी औलोको बिरामी रहेका १० जिल्लामा कैलाली, मुगु, कन्चनपुर, बाँके, बाजुरा, सुर्खेत, कपिलबस्तु बर्दिया,बैतडी र अछाममा देखिएका छन्। यो आर्थिक बर्षमा मुलुककमा ७७ जिल्लामध्ये ४५ जिल्लामा औलो देखा परेको छ।
सन २०२५ सम्ममा औलो मुक्त राष्ट्र बनाउने लक्ष्य
सरकारले नेपाल औलो रणनीतिक योजना अनुसार सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ। नेपालले सन् २०२२ सम्म स्थानीय औलो शुन्यमा पुर्याउने र त्यसको तीन वर्षसम्म शून्यमै कायम राख्न सकेमा मात्र सन् २०२५ मा विश्व स्वास्थ्य संगठनले नेपालमा औलो निवारण भएको प्रमाण पत्र दिन्छ।
तर, पछिल्लो समय तराईका जिल्लामा मात्र देखिने औलो उच्च पहाडी र हिमाली जिल्लाका तल्लो तहमा समेत देखिन थालेको छ। विश्व स्वास्थ्य संगठनले सन २०३० सम्म यो रोग निवारण गर्नका लागि सम्भव हुने जनाएपनि यो कठिन भएको डा. लालले बताए। सन् २०३० सम्ममै रोग निवारणका लागि नेपाललाई आग्रह गरेपनि यो सम्भव नभएको डा. लालले जानकारी दिए। औलोलाई उन्मुलन गरेपछि तीनबर्षसम्म एक जना पनि नया बिरामी देखिन हुदैन जुन तत्काल सम्भव नभएको उनको भनाइ छ।
यो रोग उन्मुलन गर्नका लागि अहिले भारतसंग जोडिएका राष्ट्रहरु भुटान बंगलादेशसँगै हाम्रो देश नेपाललाई पनि निकै ठुलो समस्या देखिएको छ। नेपालमा स्थानीय स्तरमा औलोका बिरामी कम हुदै गएपनि ५० प्रतिशतभन्दा बढी भारतबाट आयातित हुने गरेको छ। नेपालमा खुला सिमाना र वैदेशिक रोजगारमा गएर फर्केकाबाट औलोको जोखिम भएकाले यसको नियन्त्रणमा समस्या भइरहेको हो। भारतमा काम गरी फर्केका र अफ्रिकी मुलुकमा शान्ति सेनामा गएका सुरक्षाकर्मीमा औलोको भाइरस बढी मात्रामा भेटिने गरेको छ।
विश्व औलो दिवस–२०१९ को अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले, यो आर्थिक बर्षमा ११ सय ८७ जनामा औलो देखा परेको र उनीहरुको निःशुल्क जाँच गरेको जानकारी दियो। ज्वरो बिना औलो रोग नलाग्ने भएकाले ज्वरो आउने वितिकै स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्ने महाशाखाका निर्देशक लालले बताए। औलो सुक्ष्मस्तरीकरण २०१८ को अध्ययन अनुसार २० जिल्लाका ४९ वडाका करीब २ लाख १६ हजार जनसंख्या औलोको उच्च जोखिममा छ।
सरकारले औलो नियन्त्रण तथा रोकथामका लागि सम्पुर्ण सरकारी स्वास्थ्य सस्थामार्फत औलोको परिक्षण तथा उपचार सेवा निःशुल्क दिँदै आएको छ। साथै औलोको उच्च तथा मध्यम जोखिम रहेका २० जिल्लामा बसोबास गर्ने गर्भवती महिलाहरुलाई पहिलोपटक गर्भ जाँच गर्न आउने क्रममा झुल वितरण गर्दै आएकोछ।
पोथी एनोफिलिज लामखुट्टेले कसरी सार्छ औलो ?
औलो रोग पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट मात्रै सर्ने गर्छ। एनोफिलिजको भाले लामखुट्टेले मान्छेलाई यो रोग सार्दैन। पोथीले प्रोटिनको खोजीमा मानिस वा जीवजन्तुको रगत चुस्ने गरेको डा. लाल बताउँछन्। पोथी लामखुट्टेलाई अण्डा बनाउनका लागि प्रोटिन अवश्यक पर्छ। प्रोटिनकै लागि उसले रगत चुस्छ। त्यो बेला पोथी लामखुट्टेको अण्डाबाट मात्र उसको परजिवी मान्छेमा सर्ने हो। तर भाले लामखुट्टेलाई आबश्यक प्रोटिन भने फूलको रसबाट प्राप्त गर्छ। औलो रोगबाट सबैभन्दा बढी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका जोखिममा छन्।