arrow

सात प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण, प्रतिव्यक्ति आय बढ्यो

कूल गार्हस्थ उत्पादनमा प्रदेश नं ३ को योगदान सबैभन्दा बढी, कर्णाली प्रदेशको योगदान कम

logo
रमेश लम्साल,
प्रकाशित २०७६ वैशाख १४ शनिबार
CBS-eco-index.jpg

काठमाडौं। चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले  सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५-७६ को राष्ट्रिय लेखा तथ्याङ्क’अनुसार चालू आर्थिक वर्षको आर्थिक अवस्थाका बारेमा प्रक्षेपण गरेको हो। सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। पछिल्ला तीन वर्षमा निरन्तररुपमा ६ प्रतिशतबढी आर्थिक वृद्धिदर हुँदै आएको छ। तीव्रतर आर्थिक वृद्धि हुने देशमा नेपाल परेको छ।

आर्थिक वर्ष २०७४-७५ मा ६.३० प्रतिशत तथा आव २०७३-७४ मा ७.७४ प्रतिशतको दरमा आथिृक वृद्धि भएकोसमेत विभागले जनाएको छ। समग्रमा औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, उद्योग निर्माण लगायतलाई द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर विश्लेषण गरिएकामा विगत तीन वर्षमा कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको देखिन्छ भने सेवा क्षेत्रको योगदान बढ्न गएको पाइएको छ। द्वितीय क्षेत्रको योगदानमा खासै घटबढ भएको छैन।

कृषि वन, मत्स्य र खानी उत्खनन क्षेत्रलाई प्राथमिक क्षेत्रमा राखिएको छ। चालू आर्थिक वर्षको कूल उत्पादनमा यस क्षेत्रले २७.५९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। आव २०७४-७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.१० प्रतिशत हुने अनुमान गरिएको विभागले जनाएको छ। 

चालू आवमा मौसमको अनुकूलताका कारणले कृषि क्षेत्रमा उल्लेख्य वृद्धि, पुनःनिर्माणका लागि वन पैदावारका सामग्री तथा उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सकारात्मक प्रभाव परेको छ। चालू आवमा द्वितीय क्षेत्रका रुपमा रहेको निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान १४.६० प्रतिशत रहेको छ। आव २०७४-७५ मा चालू आवमा यस क्षेत्रको कूल वृद्धिदर स्थिर मूल्यमा ८.१० प्रतिशत रहेको छ। 

ऊर्जा, क्षेत्रको विस्तार, पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता औद्योगिक क्षेत्रमा भएको वृद्धिलगायत कारण यस क्षेत्रको प्रगति भएको छ। सेवा क्षेत्रमा पनि थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्तता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्र रहेका छन्।

चालू आवको कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिएका छन्। आव २०७४-७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ७.२९ प्रतिशत रहेको छ। चालू आवको कूल गार्हस्थ उत्पदानमा कृषि क्षेत्रले २६.९८ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७३.०२ प्रतिशत योगदान दिएको छ।

प्रतिव्यक्ति आय बढ्यो 
विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि भएको पाइएको छ। आव २०७४-७५ मा एक हजार चार अमेरिकी डलर रहेकामा चालू आवमा ३० डलरले बढेर एक हजार ३४ डलर पुगेको छ। यस्तै नेपाली मुद्रामा प्रतिव्यक्ति आय रु एक लाख १७ हजार ४५५ पुगेको छ। 

यस्तै चालू मूल्यअनुसार कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा भने रु ३४ खर्ब ६४ अर्ब ३१ करोड बराबर हुन पुगेको छ। यस्तै चालू मूल्यअनुसार कूल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा भने रु २९ खर्ब ३२ अर्ब ७४ करोड बराबर हुन पुगेको छ। चालू मूल्यअनुसार कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा भने रु १७ खर्ब ३५ अर्ब २८ करोड रहेको छ। 

त्यस्तै विभागका अनुसार चालू मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ४७ खर्ब ९६ अर्ब ५१ करोड रहेको छ। यस्तै कूल गार्हस्थ उत्पादनमा प्रदेश नं ३ को योगदान सबैभन्दा बढी रहेको छ भने कर्णाली प्रदेशको योगदान असाध्यै कम रहेको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ