arrow

तेस्रो श्रमशक्ति सर्वेक्षणः नौ लाख मात्र बेरोजगार

logo
रासस,
प्रकाशित २०७६ वैशाख १४ शनिबार
Central-Bureau-Statistics-CBS.jpg

काठमाडौं। मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४-७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ। जसमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। बेरोजगारमध्ये बसोबासका आधारमा छ लाख ४० हजार शहरी क्षेत्रमा र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा छन्।

सार्वजनिक गरिएको सर्वेक्षणमा नेपालको बेरोजगारी दर ११.४ प्रतिशत देखाएको छ। पुरुषको तुलनामा महिलामा बेरोजगारीको दर बढी रहेको पाइएको छ। पुरुषको र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत छ। यसैगरी शहरमा ११/६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ।

त्यस्तै १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीका क्षेत्रमा रहेको पाइएको छ। यसमा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४० हजार महिला छन्। रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्या काम गर्ने उमेर समूहअन्तर्गतको जम्मा जनसङ्ख्याको ३४।२ प्रतिशत रहेको छ।

यसैगरी बसोबासको आधारमा रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्यामध्ये ४९ लाख एक हजार शहरी क्षेत्रमा रहेको र २१ लाख ८५ हजार ग्रामीण क्षेत्रमा रहेको सर्वेक्षणले देखाएको छ। जम्मा रोजगारीमा रहेको जनसङ्ख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन्। रोजगारीमा रहेको पुरुषमध्ये शहरमा ६८ र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत छन्। यसैगरी रोजगारीमा रहेका महिलामध्ये ७० प्रतिशत शहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ। 

सन् २०१७-१८ मा नेपालको श्रम शक्तिमा सहभागिता दर ३८.५ प्रतिशत रहेको छ। यो दर शहरमा ४१.७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३२.९ प्रतिशत रहेको छ। यसैगरी पुरुष र महिलाको श्रम शक्तिमा सहभागिता दर क्रमशः ५३.८ र २६.३ प्रतिशत छ। रोजगार रहेको जनसङ्ख्यालाई हेर्दा सबैभन्दा बढी प्रदेश नं २ मा २०.१ प्रतिशत र सबैभन्दा कम प्रदेश नं ३ मा सात प्रतिशत मात्र रहेको छ। प्रदेशअनुसार श्रम शक्तिमा सहभागिता दर सबैभन्दा बढी ४७।१ प्रतिशत प्रदेश नं ३ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७।३ प्रतिशत छ।

श्रमको अल्पउपयोग दर ३९.३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। लिङ्गका आधारमा पुरुष ३२ र महिला ४८.८ प्रतिशत रहेको छ। मुख्य काम गर्ने समय साताको ४४ घन्टामध्ये पुरुषको ४८ घन्टा र महिलाको ३९ घन्टा छ। अर्थतन्त्रलाई आधार मानेर औपचारिक र अनौपचारिक क्षेत्रमा ३७.८ प्रतिशत क्रियाकलाप औपचारिक र ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेको पाइएको छ। 

सर्वेक्षणले १५.४ प्रतिशत औपचारिक रोजगारी र ८४.६ प्रतिशत अनौपचारिक रोजगारी रहेको देखाएको छ। रोजगारमा रहेको र तलब-ज्याला प्राप्त गर्ने औसत मासिक आम्दानी रु १७ हजार ८०९ रहेकामा पुरुषको औसत मासिक आम्दानी रु १९ हजार ४६४ र महिलाको औसत मासिक आम्दानी रु १३ हजार ३६० रहेको छ। पुरुषको तुलनामा महिलाले औसत ३० प्रतिशत कम तलब पाउने गरेका छन्। नेपाली महिलाले पुरुषको तुलनामा औसत मासिक रु पाँच हजार ८३४ कम कमाउने सर्वेक्षणले देखाएको छ। 

प्रामाणिक औद्योगिक वर्गीकरणअनुसार रोजगारीको वितरण मुख्य पाँच क्षेत्रमा बढी देखिएको छ। सबैभन्दा बढी व्यक्ति कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकलको मर्मत सम्भार, उद्योग, निर्माण र शिक्षामा क्रमशः २१.५, १७.५, १५.१, १३.८ र ७.९ प्रतिशत छ।

प्रामाणिक पेशाको वर्गीकरणअनुसार रोजगारीलाई हेर्दा सबैभन्दा बढी मुख्यतः तीन वटा पेसा समूहमा रहेको पाइएको छ। सेवा तथा बिक्री, प्रारम्भिक आधारभूत सेवा र हस्तकला ९यन्त्र० र त्यससँग सम्बन्धित व्यापार गर्ने काममा रहेका छन्। सेवा तथा बिक्री गर्ने काममा २३.८, प्रारम्भिक आधारभूत सेवामा २०.३ र हस्तकलासँग सम्बन्धित काममा १९.६ प्रतिशत छ। सबैभन्दा कम उच्च तहका प्रबन्धकको पेसामा १.२ प्रतिशत मात्र रोजगारी रहेको छ। प्रबन्धक पुरुष ८६.८ र महिला १३.२ प्रतिशत छ।

नेपालमा श्रम केन्द्रित सर्वेक्षणका रुपमा पहिलो पटक सन् १९९८-९९ मा नेपाल श्रम शक्ति सर्वेक्षण भएको थियो। सन् २००८ मा दोस्रो तथा सन् १०१७-१८ मा तेस्रो श्रम शक्ति सर्वेक्षण गरिएको हो। तेस्रो सर्वेक्षणका लागि २०७४ असारदेखि २०७५ जेठसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो। यस पटकको श्रम शक्ति सर्वेक्षण अन्तर्राष्ट्रिय श्रम सङ्गठनले श्रम तथ्याङ्क विज्ञहरुको १९ औँ सम्मेलनबाट पारित श्रम तथ्याङ्कसम्बन्धी अवधारणाअनुसार सञ्चालन गरिएको विभागले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ