arrow

क्रिकेटमा एक उदीयमान मुलुकको दुःखद् यात्रा

केन्या कै बाटोमा नेपाली क्रिकेट

logo
चिरञ्जीवी आचार्य
प्रकाशित २०७६ वैशाख १४ शनिबार
kenya.png

काठमाडौं । सन् २००३ को आईसीसी क्रिकेट विश्वकप एशोसिएट्स मुलुकले सधैं सम्झिने प्रतियोगिता हो । यो प्रतियोगिताले विश्व क्रिकेटलाई एशोसिएट्स मुलुकले टेस्ट मान्यता प्राप्त मुलुकलाई राम्रो चुनौती दिन सक्छन् भन्ने पाठ सिकाएको थियो । 

जहाँ एक एशोसिएट्स मुलुकले श्रीलंका, जिम्बाबे र बंगलादेशजस्ता मुलुकलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यो मुलुकको नाम हो – केन्या । अहिलेसम्म विश्वकपको सेमिफाइनलमा पुग्ने यो एक्लो एशोसिएट्स मुलुक हो ।

तर, त्यसको १६ वर्षमा केन्याको क्रिकेटले यति ठूलो सफलता पाएको थियो भन्दा पत्याउनसक्ने अवस्था छैन । यो टोली अहिले विश्व क्रिकेट लिग डिभिजन ३ मा छ । अहिले यो टोलीको एकदिवसीय मान्यता पनि खोसिएको छ । कुनै समयमा केन्याले टेस्ट क्रिकेटको मान्यता पाउनुपर्छ भनेर ठूलै बहस पनि हुने गर्थ्यो । 

सन् ९० को दशकको अन्तिम र २००० को दशकको शुरुआतमा यो टोली आईसीसीका ठूला प्रतियोगितामा टेस्ट मान्यता प्राप्त मुलुकका लागि पनि केन्यालाई हराउनु एक चुनौती थियो । अहिलेको केन्याको टोलीले भने दुई संस्करणको एकदिवसीय विश्वकपको छनोट चरण पार गर्न सकेको छैन । साथै, पछिल्लो तीन संस्करणको टी–२० विश्वकपका लागि पनि छानिन सकेको छैन । 

केन्या क्रिकेटको इतिहास 

केन्यामा क्रिकेट शुरु भएको ७० वर्ष पूरा भइसकेको छ । बेलायतले यो मुलुकमा क्रिकेट भित्र्याएका थिए । बेलायतबाट स्वतन्त्र भएपछि भने यो खेल एसियामा धेरै विकास हुन पुग्यो । सन् १९५१ मा पहिलोपटक केन्यामा क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । 

सन् १९५३ मा केन्या क्रिकेट संघ स्थापना भएको थियो । सन् १९७५ मा विश्वकपमा इस्ट अफ्रिकाको टोलीमा सातजना केन्याका खेलाडी थिए । सन् १९८२ देखि भने उनीहरु आफ्नो मुलुकको झण्डामुनि खेल्दै आएका छन् । सन् १९८० को दशकको अन्तिम समय केन्याको क्रिकेटको लागि स्वर्णिम रहन पुग्यो । 

यो समयमा भएको विकासले केन्यालाई महत्वपूर्ण सफलताको लागि लायक बनायो । त्यतिबेला मुलुकमा बलियो क्लब संरचनाको विकास भयो । त्यतिबेलाका प्रमुख भारतीय खेलाडीहरु सञ्जय मन्ज्रेकर, सन्दी पाटिल, चन्द्रकान्त पण्डित, प्रवीन आम्रे, बलबिन्दर सन्धु र कर्सन घावरी जस्ता खेलाडी नाइरोबीमा गएर क्लब क्रिकेट खेल्थे ।

त्यतिबेला स्थानीयहरुमा पनि क्रिकेटबारे राम्रै चासो थियो । ७० देखि ८० स्थानीय अफ्रिकी खेलाडीले नाइरोबी क्लब लिग खेल्थे । सन् १९९४ मा आईसीसी ट्रफी अपेक्षा गरिएअनुसार केन्यामा आयोजना गरियो र त्यसमा केन्याले निकै राम्रो प्रदर्शन पनि गर्‍यो र यो टोली १९९६ मा भारतमा भएको विश्वकपका लागि छानियो ।

उक्त विश्वकपमा यो टोलीले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई पराजित गरेको थियो । त्यसको एक वर्षपछि सन् १९९७ मा केन्याले भारतमाथि पहिलो जित हासिल गरेको थियो र आईसीसी ट्रफीको फाइनलमा पुगेको थियो । यससँगै टोली १९९९ को विश्वकपका लागि छानिएको थियो । यो विश्वकपमा टोलीले कुनै खेल जित्न सकेन तर टेस्ट खेल्ने मुलुकबाहेकको सबैभन्दा बलियो टोलीको रुपमा आफूलाई सिद्ध गरेको थियो । 

त्यसपछि सन् २००३ को विश्वकपको सेमिफाइनलमा पुगेको यो टोली सन् २००७ र २०११ को विश्वकपमा समुहचरणबाट बाहिरिएको थियो । 

किन खस्कियो केन्याको क्रिकेट ? 

क्रिकेटमा यति छिटो खस्किनुले केन्या क्रिकेटबारे चासो बढेको छ । केन्याको क्रिकेट यसरी ओरालो लाग्नुका प्रमुख कारण प्रशासनिक असफलता, भ्रष्टाचार, आर्थिक संकट र सरकारबाट सहयोग नहुनु नै हो । केन्या क्रिकेट टोलीका पूर्व कप्तान आसिफ करिम भने सरकारको क्रिकटपछिको उदासीनता नै खस्किनुको मुख्य कारण रहको बताउँछन् । 

शक्तिमा रहेका मानिसले कहिल्यै पनि यसको विकासको बारेमा नसोचेको उनको भनाइ छ । यसकारण अहिले यो टोलीमा यस किसिमको विपत्तिले जन्म लिएको हो । यति ठूलो सफलता पाए पनि क्रिकेटप्रति न मुलुकको क्रिकेट संघ गम्भीर देखियो न त सरकार । 

केन्या क्रिकेट संघको क्षमता र पारदर्शिता मुलुकको अन्य प्रशासनको तुलनामा सबैभन्दा कम देखियो । जसको कारण प्रयोजकले केन्या क्रिकेटलाई प्रायोजन गर्न छाडिदिए । त्यति नै बेला स्थानीय क्रिकेटमा सुधारको आवश्यकता देखियो । विशेषगरी रातो बलको फर्म्याट लागि । 

तर, पर्याप्त कोषको अभावमा संघले हुँदै आएको प्रतियोगिता पनि आयोजना गर्न सकेन । त्यसका साथै, उसले आईसीसीका पूर्ण सदस्य र आईसीसीसँग विश्वका प्रमुख टोलीसँग खेल्ने अवसरका लागि आग्रह गरेन । जसको कारण केन्याको टोलीले कुनै पनि फस्ट क्लास क्रिकेटको भ्रमण गरेन । 

सन् २००४ मा आर्थिक संकटको बीचमा केन्या क्रिकेट एशोसिएशन विघटन भयो र क्रिकेट केन्या नामक अर्को संघको स्थापना भयो । तर, यो संघको पनि स्वभावमा भने कुनै परिवर्तन भएन । जसको कारण बिस्तारै यो मुलुकको क्रिकेट बिस्तारै खस्किँदै गयो । 
यसअघि नामिबियामा भएको आईसीसी विश्व क्रिकेट डिभिजन डिभिजन २ र न्युजिल्याण्डमा भएको यू–१९ विश्वकपमा गत वर्ष गरेको खराब प्रदर्शनको कारण सरकारले क्रिकेट केन्यालाई अन्तरिक कमिटिले विस्थापित गरेको थियो । 

पछिल्लो १२ वर्षमा केन्यालाई आईसीसीले खेलको विकास तथा प्रशासनिक खर्चका लागि १ करोड ७० लाख डलर दिएको थियो । तर, उक्त रकमको खर्चको एक पेजको विवरण पनि अहिलेसम्म केन्याको क्रिकेट संघले दिएको छैन । अब पनि केन्याको पुरानै अवस्था दोहोर्‍याए केन्याको क्रिकेटका लागि त्यो थप नराम्रो हुन सक्छ । 

नेपालले के सिक्ने ?

 नेपाली क्रिकेटले पनि पछिल्लो समय राम्रो सफलता पाउँदै गएको छ । महत्वपूर्णरुपमा नेपाली क्रिकेटले अहिले एकदिवसीय मुलुकको मान्यता पाएको छ । यस्तोमा यो उपलब्धिलाई अहिले सम्हालेर राख्न नसकेको खण्डमा नेपालको नियति पनि केन्याको अवस्थामा नपुग्ला भन्न सकिँदैन । केन्याको क्रिकेटमा देखिएको समस्या नेपालको क्रिकेटमा देखिएको समस्यासँग मिल्दो जुल्दो छ । 

नेपाली क्रिकेटमा पनि सरकारको उदासीनता स्पष्ट देख्न सकिन्छ । सरकारको नीति तथा कार्यक्रममा क्रिकेटको विषय नपर्नु त्यसको ज्वलन्त उदाहरण हो । क्रिकेटमा कुनै सफलता हासिल गर्दा जस लिने होडबाजी सरकारमा बस्नेहरुलाई हुन्छ । तर, नीति तथा कार्यक्रममा क्रिकेटको विकासका कुराहरु अटाउँदैनन् । पर्याप्तरुपमा खेलाडीलाई अभ्यासको लागि मैदान तथा आवश्यक सामग्रीको अभाव छ भने मुलुकमा खेलक्षेत्रमै आफ्नो करियर बनाएर बाँच्नसक्छु भन्ने अवस्थाको सिर्जना नगरेसम्म क्रिकेटमा विकास हुन सक्दैन । 

प्रशासनिक असफलता, भ्रष्टाचार, आर्थिक संकट र सरकारबाट सहयोग नहुने समस्या नेपालको पनि साझा समस्या हो । यो समस्याको कारण आईसीसीले नेपालको क्रिकेट संघ क्यानमाथि प्रतिबन्ध लगाएको छ ।

यस्तोमा आईसीसीले नै नेपाली खेलाडीको नियमन गर्ने गरेको छ । यस्तोमा विभिन्न किसिमका समस्याको सामना नेपाली क्रिकेटले गर्दै आएको छ । त्यसैले नेपाली क्रिकेटको विकासको लागि नेपालको सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी देखिन्छ । बेलैमा क्रिकेटबारे सोच्न नसकिए अहिले पाएको सफलता आगामी दिनमा इतिहास मात्र बनेर रहनेछ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ