arrow

कर्मचारीहरुको चिन्ता 'राष्ट्र बैंकले रिपोर्ट निकाल्न पनि सरकारको सिग्नल कुर्ने अब ?'

गभर्नरलाई दिए चेतावनी

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
Rastra-bank-udghatan.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले राष्ट्र बैंकमाथि सरकारले दिएको अनावश्यक दबाब र बैंकको गुम्दै गएकोको स्वायत्तताबारे चिन्ता व्यक्त गरेका छन् । वर्षौं लगाएर जनताको मन जित्न सफल भएको राष्ट्र बैंकमाथि सीमित र अल्पकालीन राजनीतिक स्वार्थ हाबी हुन पुग्दा आम मानिसमा गढेको विश्वास हराउन सक्ने तर्फ राष्ट्र बैंकका कर्मचारीहरुले चिन्ता व्यक्त गरेका हुन् । 

शनिबार बैंकको केन्द्रीय कार्यालयमा भएको ६४ औं वार्षिकोत्सव समारोहमा बोल्ने विभिन्न कर्मचारी संगठनहरुले यसप्रति दुख व्यक्त गर्दै राष्ट्र बैंकको अस्तित्वमाथि प्रहार हुँदै गर्दा मुकदर्शक बनेर नबस्न समेत गभर्नर डा चिरञ्जीवी नेपाललाई चेतावनी दिएका छन् । राजनीतिक दलहरुले आफूले भनेजस्तो गराउन खोज्नु स्वभाविक भएपनि राजनीतिक दलबाट बैंकको संस्थागत मर्यादामाथि माथि हुने प्रहारलाई रोक्ने काम बैंकको नेतृत्वको नै रहेको तर्क पनि गरेका छन् । 

नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्र बैंक इकाईका अध्यक्ष रेशमराज रेग्मीले राष्ट्र बैंक पछिल्लो समय अलिक साँघुरो साँघुरो परिस्थितिमा काम गर्न बाध्य भएको गुनासो गरे । उनले दुई हिसाबले राष्ट्र बैंक साघुरो हुँदै गएको उल्लेख गरेका छन् । एकातर्फ सांकेतिक रुपमा भूकम्पले भवन भत्काएर साँघुरो परिस्थितिमा काम गर्नुपरेको कुरालाई इंकित गरेका छन् भने अर्कोतर्फ राष्ट्र बैंकमाथि  राजनीतिक हस्तक्षेपका कारण आफूहरुको काममा समेत केही असहज परिस्थिति सिर्जना भएको गुनासो समेत उनको थियो । 

रेग्मीले राष्ट्र बैंकको स्वायत्तताको विषयमा कुरा उठाउँदा 'तिमीहरुलाई भाषण गर्न चाहियो स्वायत्तता ?' भन्ने जस्ता गैरजिम्मेवार कुराहरु पनि आउने गरेको भन्दै केन्द्रीय बैंकको स्वायत्तताको विषय पछिल्लो समय चिन्ताजनक बन्दै गएको समेत बताए । आफू कार्यरत संस्थाको साख जोगाउन कर्मचारी, डेपुटी गभर्नर र गभर्नर नै सचेत हुनुपर्ने भन्दै उनले भने 'हामीले नजोगाउने हो भने बैंकको स्वायत्तता बचाईदिन अरु कोही पनि आउँदैनन् । हाम्री कार्यरत संस्थाको साख जोगाउने जिम्मेवारी हाम्रै हो ।'

भारत र अमेरिकामा समेत स्वायत्तताको विषय उठिरहेको तर्फ इंकित गर्दै उनले पछिल्ला दिनहरुमा नेपालमा पनि केन्द्रीय बैंकको स्वयत्तताको विषयमा राष्ट्र बैंकले केही समस्याहरु बेहोर्नु परेको विषय उठान गरे । भविष्यमा अन्य आर्थिक लाभ खोज्नेहरुको कमजोरीका कारण पनि यस्तो समस्या राष्ट्र बैंक भित्र प्रवेश गरेको रेग्मीको आरोप छ । केन्द्रीय बैंकको प्रतिनिधिको रुपमा काम गर्दै गर्दा केन्द्रीय बैंकको स्पीरिटलाई जोगाउन सकिएन भने विभिन्न समयमा बैंकको नेतृत्व गरेर राष्ट्र बैंकलाई एउटा दरिलो संस्थाको रुपमा विकास गराएका पूर्व गभर्नरहरुको दुखले अहिलेको पुस्तालाई सराप्ने तर्क उनको छ । 

'यस्तै स्थिति हो भने राष्ट्र बैंकको अनुसन्धान विभागले महिना महिनामा प्रकाशित गर्ने प्रतिवेदनहरुको लागि पनि माथिको सिग्नल कुर्नुपर्ने स्थिति आउन सक्छ।' रेग्मीले भने 'यस्तो अवस्थामा केन्द्रीय बैंकको स्वायत्तताको सवाललाई हल्लिन नदिने काम नेतृत्वको काधमा रहेको छ ।' यस्तो अवस्थामा राजनीतिक नेतृत्वबाट समस्या आउने भएपनि त्यसलाई सामना गर्ने हिम्मत गवर्नरमा रहनुपर्ने तर्फ समेत उनले धारणा राखेका छन् । 

त्यस्तै नेपाल राष्ट्र बैंक कर्मचारी संगठनका अध्यक्ष रेशम बहादुर बलछौडेले पछिल्लो समय नेपाल राष्ट्र बैंकको स्वायत्ततामा विचलन आएको भन्ने कुरा बाहिर आएको भन्दै उनले यसप्रति दुख व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई मजबूत बनाउनै पर्ने भन्दै उनले राष्ट्र बैंकको निर्णय अर्थ मन्त्रालयबाट तय गर्ने होइनकी यसलाई एउटा सल्लाहकारको भूमिकामा मात्रै विकास गर्नुपर्नेमा जोड दिए । ६४ औं वार्षिकोत्सवले यो माहोल सिर्जना गरोस् भन्ने धारणा समेत राखेका छन् । 

नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष ढुंडीराज मिश्रले २०५६ सालमा कर्मचारी संगठनहरु मिलेर राष्ट्र बैंकको स्वायत्तता सम्बन्धि अन्तर्क्रिया गराएपछि राष्ट्रबैंकको स्वायत्तता सम्बन्धि बहस सुरु भएको र २०५८ सालमा यससम्बन्धी कानूनहरु आएको जानकारी दिए । उनले स्वायत्तता चाहिँ खोज्ने तर आफ्नो कर्तब्य बोध भने नहुने हो भने त्यसरी स्वायत्तता पाउन नसकिने धारणा व्यक्त गरे । संसार भरी नै यस्तो समस्या रहेको भन्दै दुबै भूमिकामा हामीहरु सचेत हुनुपर्नेमा पनि उनले जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ