arrow

राष्ट्र बैंकमा ‘आकर्षक विभाग'का लागि दौडधूप सुरु, कामु पाउनसक्ने यी हुन् सम्भावित ५ निर्देशक

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकका अहिले कार्यरत १७ कार्यकारी निर्देशकहरु मध्ये ५ कार्यकारी निर्देशकले यही जेठ २५ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य अवकाश पाउँदैछन् । अनिवार्य अवकाशको एक महिना अघिदेखि विदामा बस्ने परम्परा अनुसार पाँचै जना कार्यकारी निर्देशकहरु नारायण पौडेल, नरबहादुर थापा, जनक बहादुर अधिकारी, भीष्मराज ढुंगाना र झलक शर्मा आचार्य यही बैशाख २५ गतेदेखि घर बिदामा बस्दैछन् । 

बैक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक पौडेल, राष्ट्र ऋण व्यवस्थापन विभागका थापा, माईक्रो फाईनान्स प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका अधिकारी, विदेशी विनिमय विभागका ढुंगाना र बैंकिङ कार्यालयका कार्यकारी निर्देशक आचार्यले अनिवार्य अवकाश पाउन लागेका हुन् । यी विभागहरु मध्ये विशेषगरी नियमन विभाग र विदेशी विनिमय विभागको कार्यकारी निर्देशक बन्नको लागि भने बैंकभित्र दौडधुप सुरु भएको छ । 

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकहरु अवकाशको लागि नियमावलीले विभिन्न ३ वटा मापदण्ड तय गरेको छ भने कार्यकारी निर्देशक बाहेकका कर्मचारीहरुको हकमा अवकाशका दुई वटा मापदण्डहरु तय गरिएको छ । राष्ट्र बैंकको कर्मचारी सेवा नियमावली २०६८ ले अन्य कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने व्यवस्था गरे पनि कार्यकारी निर्देशकका लागि भने ७ वर्ष निरन्तर सो पदमा रहेको व्यक्तिले समेत अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ ।

५ कार्यकारीको निर्देशकको अवकाशको मिति नजिकिएसँगै गभर्नर चिरञ्जीवी नेपालमाथि दोहोरो दबाब सिर्जना हुन थालेको छ । सरकारको हस्तक्षेपका बाबजुत पनि योग्य र सक्षम निर्देशकहरुलाई कार्यकारी निर्देशकमा बढुवा गर्न एकातर्फ कर्मचारीहरुले दबाब दिँदै आएका छन् भने अर्काे तर्फ आकर्षक मानिएका दुई विभागमा आफ्ना मान्छे पठाउनको लागि अर्थमन्त्रीले समेत दबाब दिन सुरु गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । केन्द्रीय बैंकको स्वायत्ततामाथि प्रश्न उठिरहेको बेलामा अर्थमन्त्रीले दिएको दबाबको आधारमा कर्मचारी छनोट गरिँदा अन्ततः केन्द्रीय बैंक नै कमजोर बन्दै जाने चिन्ता कर्मचारीहरुको छ ।

राष्ट्र बैंकको सबैभन्दा शक्तिशाली र महत्वपूर्ण मानिएको बैंक तथा वित्तीय संस्था नियमन विभाग र विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक बनाएर पठाउनको लागि अहिले अर्थमन्त्री युवराज खतिवडा निकट मानिएका केही कार्यकारी निर्देशकहरु समेत मन्त्रीकोमा धाउन थालिसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ । स्रोतका अनुसार एक कार्यकारी निर्देशकको नाममा त गभर्नरमाथि दबाब आउन नै थालिसकेको छ । 

त्यस्तै, पाँच जना कार्यकारी निर्देशकहरुको अवकाश पछि वरिष्ठताक्रमका आधारमा पाँच जना निर्देशकहरुले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाउने सम्भावना रहेको छ । साउनपछि मात्रै बढुवाको प्रक्रिया सुरु हुने राष्ट्र बैंकमा अहिले कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएको निर्देशक नै पछि कार्यकारी निर्देशकमा बढुवा हुने सम्भावना बढी हुन्छ । त्यसैले पनि अहिले निर्देशकहरुको समेत दौडधुप चलिरहेको छ । 

राष्ट्रबैंक स्रोतका अनुसार गभर्नर चिरञ्जीवी नेपालले वरिष्ठता क्रम अनुसार नै बैंकिङ कार्यालयका निर्देशक नरेश शाक्य, कर्पाेरेट प्लानिङ विभागका निर्देशक सुमन कुमार अधिकारी, अनुसन्धान विभागका प्रकाश कुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका बम बहादुर मिश्र र विदेशी विनिमय विभागकी सरिता भट्टलाई कायम मुकायमको जिम्मेवारी दिने तयारी गरिरहेका छन् । 

यी निर्देशकहरुलाई अहिले रहेको विभागमा नै कायममुकायमको जिम्मेवारी दिने वा महत्वपूर्ण विभागहरुमा अन्य विभागका कार्यकारी निर्देशकलाई ल्याउने भन्नेमा भने गभर्नर नेपाल अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन् । ‘गभर्नरज्यू एकातिर अर्थ मन्त्रालयको दबाब र अर्काे तर्फ आफू निकटका कर्मचारीहरुको दबाबले सो विषयमा अहिलेसम्म कुनै निर्णयमा पुग्न सक्नुभएको छैन’ नेपाल निकट स्रोतले भन्यो ‘कम्तिमा पनि राष्ट्र बैंकको शाख नगिरोस् भन्नको लागि पनि नियमन र विदेशी विनिमय विभागमा भने दबाबको आधारमा नभई क्षमताको आधारमा कर्मचारी छनोट हुने सम्भावना छ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ