arrow

मन्त्रालयको पत्राचारपछि पनि फिर्ता भएनन् गुणस्तरहीन चिनियाँ विद्युतीय बस

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
electric-bus.png

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ कम्पनी बिवाइडी गरेको विद्युतीय बस तथा कार खरिद सम्झौता रद्द गर्ने भएको छ। बिवाइडीले केही महिनाअगाडि नेपाल ल्याएको विद्युतीय बस गुणस्तरहीन भएको तथ्य मन्त्रालयले फेला पारेको छ।

मन्त्रालयले लुम्बिनी विकास कोषका लागि भन्दै बिवाइडीसँग खरिद गरेको गुणस्तरहीन पाँच वटा विद्युतीय बस फिर्ता लैजान निर्देशन दिएको छ। मन्त्रालयले सम्झौतामा उल्लेख भएको कुनै पनि मापदण्ड नमिलेको विद्युतीय बस फिर्ता गर्दै नयाँ बस उपलब्ध गराउन भन्दै बिवाइडीलाई पत्राचार गर्यो ।

बिवाइडीलाई गुणस्तही बस फिर्ता लैजान बारम्बार पत्रचार गरे पनि कुनै प्रतिक्रिया नदिएपछि ठेक्का सम्झौत रद्द गर्ने अन्तिम तयारी भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याले जानकारी दिए। ‘खरिद सम्झौता रद्द भइसकेको जस्तै हो’, उनले भने, ‘केही कानुनी तथा बैंक ग्यारेन्टी बापतको रकम जफत लगायतको विषय मिल्ने बित्तिकै सम्झौता रद्द हुन्छ।’

पर्यटकीयस्थल लुम्बिनी विकास कोषका लागि भनेर ल्याइएका भएपनि काठमाडौंमा चलाउने गरी सडकमा उतारिएका यी विद्युतीय बस खरिदमा चिनियाँ कम्पनीका नेपाली एजेन्टको बदमासी सतहमा आएको छ ।

चीनमा विद्युतीय सवारी उत्पादन तथा बिक्री वितरणका लागि कहलिएको बिवाइडी कम्पनीका लागि विद्युतीय गाडीको नेपाली एजेन्ट साइमेक्स कम्पनी हो। यो कम्पनी सांग्रिला होटलका सञ्चालक प्रसिद्ध पाण्डेको हो।

पाण्डेको कम्पनीले सम्झौता विपरीत ५ वटा गुणस्तहीन विद्युतीय बस उपलब्ध गराएको तथ्य सार्वजनिक भएको थियो। २० सिट क्षमताका ५ वटा बस र ७ सिट क्षमताका ११ वटा विद्युतीय कार खरिद गर्न मन्त्रालयले चिनियाँ कम्पनी बिवाइडीसँग सम्झौता गरेको थियो। जसमा २० सीटका बस नेपाल आइपुगेका थिए। तर ७ सिटका ११ वटा कार आउने र नआउने निश्चित नै भएको थिएन।

अब मन्त्रालयले सम्झौताअनुसारका विद्युतीय बस उपलब्ध नगराएको कारण ठेक्का सम्झौता रद्द गर्न लागेको जनाएको छ। लुम्बिनी विकास कोषका लागि भनेर खरिद गरिएका ५ वटा विद्युतीय बस गुणस्तरहीन भएको प्रमाणित भएको थियो।

मन्त्रालयले एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा एक वर्षअघि विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ ।

गुणस्तहीन प्रमाणित भइसकेको विद्युतीय बस नेपाल भित्र्याइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक पहिलो साता बेलुन फर्फराउँदै पुल्चोकदेखि सिंहदरबारसम्म बसमा सवारी गरी उद्घाटन गरे । मन्त्रालयले बस खरिद सम्झौता गर्दा चिनियाँ उत्पादन हुनपर्ने उल्लेख गरेका  विद्युतीय बस कम गुणस्तरका मात्र होइनन, सम्झौताका मापदण्ड मिचेर खरिद गरिएको प्रमाणित भए।  तर, सांग्रिला होटलका सञ्चालक तथा चिनियाँ कम्पनीका नेपाली एजेन्ट पाण्डेको मिलोमतोमा  गुणस्तरहीन विद्युतीय बस नेपाल भित्र्याइए।

सम्झौता विपरीत विद्युतीय बस खरिद भएको सूचना पाएपछि मन्त्रालयले अध्ययन कमिटी बनाएर छानबिन गरेको थियो। छानबिन समितिले प्रतिथान दुई करोड रुपैयाँ परेका विद्युतीय बसमा १७ वटा कमजोरी रहेको फेला पारेको थियो। खरिद सम्झौतामा सी–६ विद्युतीय मिनीबस भन्ने उल्लेख भएपनि पाण्डेले  के–६ विद्युतीय बस नेपाल ल्याइएको तथ्य समितिले फेला पारेको थियो।

खरिद सम्झौतामा विद्युतीय बसको तौल ७ हजार ४ सय ६५ केजी हुनुपर्ने उल्लेख छ । तर ५ वटै बस कम तौलका छन्। नेपाल ल्याइएका बसको उत्पादन मिति समेत स्पष्ट खुलाइएको थिएन। गाडीको बत्ती, सिट बेल्ट, सूचीबोर्ड समेत मापदण्डभन्दा बाहिर रहेको खुल्न आएको छ।

विद्युतीय बसको फिनिसिङ पनि सम्झौताअनुसार नरहेको, गाडीमा प्रयोग गरिएका सिसाहरू पनि मापदण्ड विपरीत रहेको प्रतिवेदनमा उल्लेख छ। बसको ढोका समेत राम्रोसँग नखुल्ने अवस्थामा छन् ।

यसका साथै गाडीको उत्पादन परीक्षण रिपोर्ट समेत  नभएको फेला परेको थियो। खरिद सम्झौतामा तोकिए बमोजिमका पार्टपूर्जा र टायर पनि नभएको फेला परेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ