arrow

फानी आँधीबाट भारत र बङ्गलादेशमा ४२ जनाको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ वैशाख २२ आइतबार
cyclone-fani.jpg

नयाँदिल्ली। भारत र बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ। आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीहरुले जानकारी दिएका छन्। 

भारतको उडिसाबाट शुक्रबार शुरु भएको यस आँधी प्रतिघण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो । तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीहरुले जनाएका छन्।

अधिकारीहरुले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन् । उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति भएका कारण मृतकहरुको पहिचान गर्न कठिनाइ भइरहेको जानकारी दिए। 

आँधीका कारण भारतको उडिसामा १२ लाख र बङ्गलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा पुगेका छन्। बङ्गलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र सो बाढीका परी दुई हजारभन्दा बढी घर ध्वस्त भएको एएफपी समाचार समितिले जानकारी दिएको छ। छ जनाको रुख र पर्खाल ढलेर मृत्यु भएको छ भने अन्य छ जनाको चट्याङका कारण मृत्यु भएको बङ्गलादेशी विपद व्यवस्थापन अधिकारी बेनजिर अहमदले बताए। 

बङ्गलादेशी अधिकारीले फानीका कारण घरमा क्षति पुगेको, रुख ढलेका, विद्युत सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाइ सेवामा असर परेको बताएका छन्। टेलिभिजनले तटीय क्षेत्रमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीले दशौँ हजार मानिसलाई सुरक्षितस्थलमा पुर्‍याएका छन्।

सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बङ्गलादेशमा ताण्डब मच्चाउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ