यातायातका लेखापाल सुरेश विरुद्ध ५ करोड १० लाखको भ्रष्टार मुद्दा
चार श्रीमति, सासु र मामा समेत अख्तियारको पासोमा
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
232
Shares
काठमाडौं। गाविस सचिवदेखि यातायात व्यवस्था कार्यालय कोशी इटहरीको लेखापाल हुँदासम्मको १६ वर्षमा झण्डै ६ करोड रुपैयाँ जोडजाम गरेका सुरेश अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा हालेको छ। अख्तियारले अधिकारी सहित उनका चारजना श्रीमतिहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्प कुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतलाई प्रतिवादी कायम गरेर सोमबार विशेष अदालतकाठमाडौंमा आरोप पत्र दायर गरेको हो।
२०५९ सालमा रोल्पा तेवाङ्गो गा.वि.स. सचिवबाट सरकारी सेवा शुरु गरेका अधिकारीले, २०६० देखि २०६५ चैतसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा काम गरेका थिए। २०६५ चैत मसान्तदेखि निजामती सेवाको लेखापाल पदमा नयाँ नियुक्ति भई कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै मिति २०६७ चैतदेखि यातायात व्यवस्था कार्यालय कोशी इटहरीको लेखापालबाट निलम्बित हुनुअघि २०७४ वैशाख ५ सम्ममा आर्जन गरेको रकम मध्ये, ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अबैध रुपमा आर्जन गरेको अख्तियारको दाबी छ।
२०५९ देखि सरकारी काम गरेका अधिकारीले निलम्बन हुनुअघिसम्म तलवभत्ता, प्रोत्साहन भत्ता, जग्गा विक्री, नगद अंश भर्पाइ, कर्जा लगायतबाट जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ भन्दा बढी कुनै हालतमा कमानउ नसक्ने भए पनि, उनले ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। गएको १६ वर्षको अबधिमा अधिकारीले अबैध रुपमा आर्जन गरेको सम्पत्ति जफत सहित, बिगो अनुसारको जरिवाना र कैद सजाय माग गरिएको छ।
अख्यिारले, अधिकारी सहित उनका चार श्रीमति, सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मालाई पनि प्रतिबादी कायम गरेको छ। अधिकारीले कमाएको अबैध रकमाबाट आफु, श्रीमतिहरु, सासु र मामाको नामा घरजग्गा, सवारीसाधन तथा बैंकमा रकम जम्मा गरेको पाइएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। अधिकारलाई २०७४ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएको थियो।
त्यो बेला, यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीहरूले करिब ५७ करोड रुपैयाँ राजस्व हिनामिना गरेको पाइएको थियो। सेवाग्राहीबाट उठाइएको ५६ करोड ५८ लाख रुपैयाँ राजस्व कार्यालयका कर्मचारीहरूकै मिलेमतोमा हिनामिना गरिएको भेटिएको थियो। करोडौं रुपैयाँ राजस्व हिनामिना गरेको भेटिनापछि, यातायात व्यवस्था विभाग काठमाडौंले यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टीकाराम बाँस्तोलालाई निलम्बन गरेको थियो।
२०६७ फागुनदेखि इटहरीस्थित यातायात कार्यालयमा काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको, अख्तियारले त्यो बेला भनेको थियो।