arrow

सिसा खानी उत्खनन् शुरु

logo
नरेन्द्रसिंह कार्की,
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
sisa.png

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलामा पहिलो पटक सिसा खानी उत्खनन् शुरु गरिएको छ । टोरेक्स माइन्स नेपाल प्रालिले महाकाली नगरपालिका–६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा सिसा खानी उत्खनन् शुरु गरेको हो ।

चार वर्षदेखि सिसाको सम्भाव्यता अध्ययन भइरहेको थियो । अहिले आएर सो प्रालिले उत्खनन् काम शुरु गरेको हो । पहिलो चरणमा बरमुडे क्षेत्रको सिसा खानी उत्खनन् शुरु गरिएको छ । रानीशिखरमा आगामी असोजदेखि सिसा खानी उत्खनन्को तयारी गरिएको लगानीकर्ता एवं साईड इन्चार्ज प्रेमसिह धामीले जानकारी दिनुभयो ।

सडक नपुगेको बरमुडे क्षेत्रमा कम्पनी स्वयंले सडकको ट्रयाक खुलाउँदै सिसा उत्खनन शुरु गरेको छ । अहिले खानीसम्म सडक पु¥याइ उत्खनन्को काम शुरु गरिएको धामीले बताउनुभयो । नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन् शुरु गरिएपछि रोजगारीको सम्भावना बढेको छ । सिसा उत्खननका लागि खानी तथा भु–गर्भ विभागले सहयोग गरेको छ । “विभागको सहयोगमा सम्भाव्यता अध्ययन सकियो, परिक्षणको लागि लगिएको सिसा खानी सफल भएपछि अहिले नियमित उत्खनन् थालिएको छ”, लगानीकर्ता धामीले भन्नुभयो । दुई वर्षअघिबाटै नियमित उत्खनन् गर्नुपर्नेमा लगानीलगायत भौतिक पूर्वाधारको समस्याका कारण ढिला गरि काम शुरु गरिएको उहाँको भनाई छ ।

सुदूरपश्चिम र काठमाडौँका १० जनाको झण्डै रु १० करोड संयुक्त लगानीमा सिसा खानीको उत्खनन् शुरु गरिएको हो । खानीबाट इलेक्ट्रोनिक ब्याट्रीमा प्रयोग हुने लिड नामक कच्चा पदार्थ निकालिने छ । डेढ वर्ष अघि रानिशिखर र बरमुडेमा परीक्षणको रुपमा सिसा खानी उत्खनन् थालिएको थियो । सिसा उत्खनन् गर्दा राम्रै भेटिएपछि अहिले आएर सो कम्पनीले काम थालेको हो ।
नेपाल सरकारले दिएको अनुमतीअनुसार उत्खनन शुरु गरेपछि खानीबाट दैनिक १५ टन कच्चा पदार्थ निकालेर प्रशोधनका लागि भारत निर्यात गरिने छ । नेपालमा सिसाको प्रशोधन गर्न उपकरण नहूँदा भारत निकासी गर्नुपरेको प्रालिले जनाएको छ ।

अहिले खानीमा १५ जनाले रोजगारी पाएका छन् । खानी उत्खनन् बढ्दै गएपछि स्थानीयले थप रोजगारी पाउने सम्भावना रहेको सञ्चालक सदस्य धामीले बताउनुभयो । दुवै क्षेत्रमा सडक सञ्जाल नपुगेका कारण आफै सडक निर्माण गरेर सिसा खानीसम्म पुग्ने प्रयास थालिएको हो । रानीशिखरसम्म पनि केहि भागमा कम्पनीले आफै सडक खनेको थियो भने स्थानीयलाई रोजगारी दिएको थियो । गाउँमा भएका खानी उत्खनन् हुन थालेपछि स्थानीयमा रोजगारीको आशा पलाएको रानिशिखरका स्थानीय महादेव ठगुन्नाले बताउनुभयो ।

सिसा खानी उत्खनन् हुँदा समग्र प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने कम्पनीले जनाएको छ । “सिसा खानी उत्खनन् थालिएको छ, यसलाई स्वदेशमै रोजगारी सिर्जनागर्ने वातावरण बनाउने जिम्मा अब सरकारको हो”, धामीले भन्नुभयो । स्थानीयमा सीपको विकाससंगै सरकारले समेत राजस्वको ठुलो हिस्सा खानीबाट पाउनेछ । तर लगानीकर्ताहरु भने खानी सञ्चालनमा सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । जिल्लामा थुप्रै प्रकारका खानी भएपनि सम्भाव्यता अध्ययन र उत्खनन् हुन नसक्दा ओझेलमा छन् । जानकारहरुका अनुसार जिल्लामा सिसासँगै तामा, फलाम, सुन तथा चमेलिया नदी किनार क्षेत्रमा युरेनियम खानी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ