arrow

विपद्मा पनि नेपाली खुसी देखेँ: ह्यारी

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
UK-rajkumar-(1).JPG.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका  बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले आज शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा दुईबीच भएको भेटवार्तामा नेपाल-बेलायत देशबीच दुई शताब्दीदेखि रहँदै आएको मित्रवत् घनिष्ठ सम्बन्धका विविध पक्षमा छलफल भएको थियो । 
 
भेटका अवसरमा राजकुमार ह्यारीले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा बेलायतका महारानी तथा आफ्नी हजुरआमाको विशेष सद्भावना सन्देश लिएर आफू नेपाल आएको जानकारी गराए । राजकुमार ह्यारीले नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ । विशेषत गोर्खा सैनिकको लगन, इमान्दारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएको र त्यसबाट आफू अत्यन्तै प्रभावित भएको प्रसङ्ग राजकुमार ह्यारीले उल्लेख गर्दै गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रुपमा रहेको बताए । 
 
“भूकम्प र इन्धन समस्या भोगिरहँदा समेत नेपालीको अनुहारमा हाँसो देख्दा विपद्मा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपाली जनतामा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,” राजकुमार ह्यारीले भने । 
 
राष्ट्रपति भण्डारीले पुरानो मित्र राष्ट्रको राजपरिवारका एक सदस्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै गत वैशाखमा गएको भूकम्पबाट पीडित नेपालीलाई टाढा रहेर पनि तदारुकताका साथ उद्धार एवम् सहयोग पुर्‍याएकामा बेलायत सरकारप्रति धन्यवाद व्यक्त गरिन् । नेपालको विकासमा साझेदार मुलुकका रुपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका बीचमा सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारी कार्यजस्ता रुचिबाट नेपाललाई योगदान पुग्ने विश्वास व्यक्त गरिन् । 
 
नेपालको पाँचदिने भ्रमणका लागि शनिबार काठमाडौ आइपुगेका बेलायती राजकुमार ह्यारीले आज विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन तथा त्यहाँ भूकम्पबाट भएको क्षति तथा भक्तपुरमा बेलायती सहयोग नियोगले भूकम्पपीडितलाई गरेको उद्धार सहयोग लगायत विषयमा जानकारी लिने कार्यक्रम छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ