व्यापारयुद्ध संग लड्नका लागि के चीनले प्रयोग गर्ला त यो अस्त्र ?

प्रकाशित मिति : २०७६ बैशाख ३० सोमबार
तस्बिर : साउथ चाइन मर्निंङ्ग पोष्ट

काठमाडौं। चीन र अमेरिकाको बीचमा अहिले व्यापारवार्ता जारी छ। यसै क्रममा गत शुक्रवारदेखि अमेरिकाले थप २ खर्ब डलरका चिनियाँ सामग्रीमा कर बढाउने निर्णय गरेको छ। यससँगै दुई मुलुकबीच जारी व्यापारिक तनाव बढेको छ। यी दुई मुलुकको बीचमा बढ्दो व्यापारिक तनावको कारण आगामी दिनमा विश्व अर्थतन्त्रमा नकारात्मक नतिजाको सामना गर्नुपर्ने चेतावनी विश्लेषकहरुले दिँदै आएका छन्।

यस्तोमा चीनले अमेरिकालाई प्रत्यक्षरुपमा व्यापारिक करको माध्यमबाट चुनौती दिनसक्ने अवस्था छैन। चीनले अमेरिकाबाट निर्यातको तुलनामा निकै कम मात्र सामग्री आयात गर्छ। त्यसैले चीनले व्यापारयुद्धबाट पार पाउनका लागि अर्को विकल्प रोज्ने सम्भावन छ। 

यसका लागि चीनले अमेरिकी सरकारको ऋण फिर्ताको बाटो पनि लिनसक्ने विश्लेषकहरुले बताएका छन्। अमेरिकासँग चीनको उल्लेख्य ऋण रहेको छ। यदि चीनले उक्त ऋण फिर्ता गर्न थालेको खण्डमा भने अमेरिकाको लागि यो एउटा समस्या बन्नसक्ने बताइएको छ। यसले अमेरिकी कम्पनिका ग्राहकहरुलाई पनि ऋण लिनु महँगो हुन जान्छ। यसले अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर पार्नसक्ने विश्लेषण हुन थालेको साउथ चाइन मर्निंङ्ग पोष्टले जनाएको छ।

इस्ट एमयूएफजी बैंकका शोधकर्ता क्लिफ टानले चीनले यो मार्ग अपनाउने सम्भावना निकै कम रहेको बताएका छन्। उनले यसो गर्दा चीनको आफ्नो स्वार्थमा पनि धक्का लाग्नसक्ने भएकोले चीनले यो बाटो नरोज्ने बताएका हुन्। साथै यसले बजारमा अत्यधिक अस्थिरता फैलिनसक्ने उनको भनाइ छ। यो हतियार चीनको लागि निकै महँगो साबित हुनसक्ने क्लिफको भनाइ छ।

चीनले यो हतियारको प्रयोग गर्दा अमेरिकी कोषमा चीनको हिस्सा पनि कमजोर बन्दै जाने र चीनको मुद्रा सञ्चिती थुप्रिने खतरा रहेको उनको बुझाइ छ। यदि अमेरिकी डलरमा रहेको आफ्नो सबै सम्पत्ति फिर्ता गरेको खण्डमा चीनले आगामी दिनमा चीनले बजारमा अत्यधिक तरलताको सामना गर्नुपर्ने उनको भनाइ छ। अमेरिकाले थप २ खर्ब डलरका सामग्रीमा आयातकर बढाउने निर्णय गरेसँगै चिनियाँ शेयर बजारमा व्यापक गिरावट देखिएको थियो।

चिनियाँ शेयर बजार १० साताकै कमजोर विन्दुमा पुगेको थियो र सन् २०१८ को मध्ययताकै ठूलो साप्ताहिक गिरावटतर्फ उन्मुख देखिएको थियो। चीनले अमेरिकाले चिनियाँ सामग्रीमा आयातकर बढाउने निर्णय गरेसँगै त्यसका लागि आवश्यक योजना ल्याउने चीनले बताएको थियो। तर, यो वक्तव्यमा यो समस्या सहकार्य र वार्ताको माध्यमबाट समाधानको आशा व्यक्त गरिएको थियो। 

सन् २०१६ यता चीनको पिपुल्स बैंक अफ चाइनाले निर्यातकर्ताबाट अमेरिकी डलर खरीद गरिरहेको छ भने चिनियाँ मुद्रा बिक्री गरिरहेको छ। चनियाँ मुद्रा अत्यधिक भएसँगै चिनियाँ केन्द्रीय बैंकले यस किसिमको योजना ल्याएको हो। 

चीनको ३१ खर्ब डलरको विदेशी सञ्चिति अमेरिकी कोषमा छ। चीनले यसलाई लगानीको सुरक्षित कोषको रुपमा लिँदै आएको छ। चीनलाई आफ्नो मुद्रा युआन बलियो बनाउन अमेरिकी डलरको सम्पत्ति खरिद गर्नु जरुरी छ। तर, पछिल्लो केही वर्षयता चीनले अमेरिकी कोषमा रहेको आफ्नो सम्पत्ति फिर्ता गरिरहेको छ। अहिले अमेरिकी कोषमा चीनको ११ खर्ब २३ अर्ब डलरको सम्पत्ति छ।

विदेशी लगानीकर्तामा चीन सबैभन्दा अगाडि छ। दोस्रो स्थानमा रहेको जापानको १० खर्ब ४२ अर्ब डलर रकम छ। तर, यो रकम अमेरिकाको समग्र ऋणको केवल ५ प्रतिशत हो। अमेरिकाको सरकारी ऋण २ सय २० खर्ब डलर छ। जसमा अमेरिकाको संघीय सरकारको नियन्त्रणमा ५० खर्ब डलरको सामाजिक सुरक्षा कोष छ। बाँकी रकम व्यक्तिगत लगानी, संघसंस्था र अन्य क्षेत्रबाट आएको हो। जसमा चिनियाँ सरकार पनि पर्छ। 

यस्तोमा केवल ५ प्रतिशतको ऋण फिर्ता गर्नुले ठूलो असर भने नगर्ने एएनजे बैंकका अर्थविद् बेट्टी रुई वाङ बताउँछन्। यदि चीनले उक्त कोषको रकम फिर्ता गरेको खण्डमा उसले त्यसलाई तेलमा लगानी गर्नेछ। तेल उत्पादकले पुनः सो रकम अमेरिकाको कोषमा फिर्ता ल्याउनेछन्। यसले चीनको स्वार्थ पूरा गर्नको लागि अर्को समस्या सिर्जना गर्नेछ। 

क्लिफ चीनलाई व्यापारयुद्धबाट पार पाउन युआनको भाउ घटाउन सुझाउँछन्। यसले चिनियाँ निर्यातकर्तालाई प्रतिस्पर्धामा सहयोगी भूमिका निर्वाह गर्नसक्छ। यदि स्थिर मुद्राको विषयमा छलफल नहुने हो भने चीनले एकपक्षीय रुपमा युआनको भाउ घटाउन सक्ने विश्लेषले बताएका छन्।

नयाँ